आज (बुधबार) राति तीनवटा प्रदेशमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनेछ। यस्तै देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थान साथै मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले आज साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानका साथै मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन/चट्याङ, बाढी, पहिरो भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) को प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।
Shares
प्रतिक्रिया