आज (बिहीबार) देखि देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम बढ्दै जाने देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मौसम बदली र वर्षा क्रमशः बढ्दै जाने संकेत देखिएको हो।
मौसम महाशाखाका अनुसार हाल देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। जसका कारण देशभर बदली र वर्षाको सम्भावना बढेको हो।
काठमाडौं उपत्यकामा आज हुनसक्छ भारी वर्षा
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ।
मौसमविद् मानन्धरका अनुसार दिउँसोलाई उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति भारी वर्षा पनि हुनसक्छ।
‘राति बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ’, उनले भनिन्, ‘त्यसकारण काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिन्छ।’
मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्म यस्तो छ वर्षाको सम्भावना–
असार ७ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असार ८ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असार ९ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन/चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया