बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सर्च अपरेसन तीव्र बनाएको छ।
मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सबैभन्दा पहिले पक्राउ परेका थिए।
सीआईबीले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पछिल्लो पटक पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्।
यो प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोली धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो।
शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए।
त्यसअघि प्रहरीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ।
मीनबहादुर पक्राउ परेपछि सीआईबीको टोली डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन प्रमुख एवम् अवकाशप्रपाप्त सहसचिव कलाधर देउजासहित ४ जनालाई पक्राउ गरेको थियो।
सीआईबीले मंगलबार बिहानदेखि चलाएको सर्च अपरेसनका क्रममा अहिलेसम्म यो प्रकरणमा ७ जना हिरासतमा परिसकेका छन्।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट सुरु भएको पक्राउ श्रृंखला डिल्ली बजार मालपोतका कर्मचारी हुँदै बिचौलियासम्म पुगेको हो।
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- ललिता निवास प्रकरण : मीनबहादुरसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो
सीआईबीको अपरेसन जारी रहेकाले यसमा मुछिएका अन्य अभियुक्तहरु पनि पक्राउ पर्ने सम्भावना बढेको छ।
भाटभटेनीका गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। त्यो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।
त्यस्तै पक्राउ परेका अन्य २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा ले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए।
ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए।
मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो।
सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सातजनाविरुद्ध सीआईबीले सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिरहेको छ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।
Shares
प्रतिक्रिया