१ वैशाख २०७६ मा सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको १९ सिटे जहाज उड्ने क्रममा चिप्लिएर मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर पार्किङ गरिएको क्षेत्रमा पुग्यो।
उक्त दुर्घटनामा जहाजका को-पाइलट सुजित ढुंगाना, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो।
उड्ने क्रममा चिप्लिएको जहाजको ठक्करबाट मनाङ हेलिकप्टरका क्याप्टेन चेतबहादुर गुरुङ गम्भीर घाइते भए।
हेलिकप्टर अवतरण गरेर पार्किङ गरी ओर्लिने क्रममा समिटको जहाज हेलिकप्टरमाथि बज्रिएको थियो। त्यसबेला गुरुङको ढाडमा चोट लाग्यो।
उनलाई तत्कालै काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरियो। जहाँ ३ महिनाभन्दा लामो समय उपचार गरेर गुरुङ निको भएका थिए।
निको भएको केही समयपछि उनले फेरि हेलिकप्टर उडाउन थाले।
जीवनमा कहिलेकाहीँ दुर्लभ संयोग पर्छन्। त्यस्तै दु:खद संयोग कास्कीमा जन्मिएर ललितपुरको भैँसेपाटीमा बस्ने गरेका गुरुङको जीवनमा पनि आइपर्यो।
चार वर्षअघि गम्भीर घाइते भएर बाँचेका गुरुङ मंगलबार (असार २६ गते) फेरि सोलुखुम्बुमै हेलिकप्टर दुर्घटनामा परे। दुर्भाग्य! यसपटक उनी बाँच्न सकेनन्।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट उनले उडाएको हेलिकप्टर ८ मिनेटमै दुर्घटनामा पर्यो। काठमाडौंका लागि उडेका ५ मेक्सिकन पर्यटकसहित क्याप्टेन गुरुङ पनि सदाका लागि अस्ताएका छन्।
‘त्यसबेला समिट एयरको जहाज हेलिकप्टरको पार्किङ क्षेत्रमा घोप्टिँदा मुस्किलले बचेका क्याप्टेन गुरुङ यसपटक के भयो के भयो’, मनाङ एयरका एक कर्मचारीले नेपालखबरसँग भने, ‘निकै परिपक्व र अनुभवी पाइलट हुनुहुन्थ्यो उहाँ।’
मंगलबार बिहान १० बजेर ५ मिनेटमा सुर्के हेलिप्याडबाट नाइन एन एमभी कल साइनको हेलिकप्टर ५ मेक्सिकन नागरिक लिएर काडमाडौंतर्फ उडेको थियो।
सोलुखुम्बुको हवाइ रुट विश्वकै खतरनाकमध्ये एक मानिन्छ। जहाँबाट छिनछिनमा बदलिएको मौसमबीच पाइलट गुरुङले हेलिकप्टर उडाएका थिए। हेलिकप्टर दुर्घटनास्थलमा पनि उद्धारकर्मी पुग्दा बाक्लो कुहिरो लागेको थियो।
बादल र हुस्सु छल्न खोज्दा हेलिकप्टर दूधकुण्ड नगरपालिका-२ र लिखुपिके गाउँपालिका-५ को सिमानास्थित लामाजुराको रुखमा ठोकिएको पाइएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले बताएका छन्।
दुर्घटनामा पाइलट गुरुङसहित सबै ६ जना (५ मेक्सिकन नागरिक) को मृत्यु भएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
प्रहरीका अनुसार रुखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा हेलिकप्टर भेटिएको छ।
२५ वर्षका अनुभवी पाइलट
गुरुङले सन् १९९८ देखि नेपालमा हेलिकप्टर उडाउन थालेका थिए। रुसबाट पाइलट कोर्स गरेका उनले सन् २०१४ सम्म रसियन हेलिकप्टर उडाएका थिए।
गुरुङले २०१४ देखि मनाङको हेलिकोप्टर उडाउन थालेका थिए। मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेका अनुसार उनी पहिलो लटको पाइलट कोर्स पढ्नेमध्ये एक थिए।
गोरखा एयरलाइन्स, इम्प्रो एयरलाइन्स र श्री एयरलाइन्स गरी तीनवटामा १६ वर्ष हेलिकप्टर उडाएपछि उनी १० वर्षअघि मनाङ आएका थिए।
‘उहाँ एकदमै अनुभवी पाइलट हो, सेफ्टी उहाँको पहिलो प्राथमिकता थियो,’ न्यौपानेले नेपालखबरसँग भने, ‘२५ वर्षको अनुभव भनेको चानचुने थिएन।’
गुरुङले सबैभन्दा बढी सोलुखुम्बुकै रुटमा हेलिकप्टर उडाएको हुनसक्छ। उनी बढीजसो चार्टर्ड उडान लिएर सोलुखुम्बु जाने गर्थे।
‘माउन्टेन फ्लाइट्सका लागि काठमाडौंबाट सोलुखुम्बुकै रुटमा बढी आन्तरिक र बाह्य पर्यटक जान्छन्,’ न्यौपानेले थपे।
गुरुङका एक श्रीमती र छोरी लन्डनमा छन्। दुर्घटनापछि उनीहरुलाई नेपाल ल्याउने तयारी भइरहेको छ।
माउन्टेन फ्लाइट सफल, तर सेलिब्रेट गर्न पाएनन्
५ जना मेक्सिकन नागरिकलाई माउन्टे फ्लाइटका लागि लिएर ५४ वर्षीय गुरुङ सोमबार सोलुखुम्बु उडेका थिए।
बिहान ११ बजे उडान गरेको हेलिकप्टर लुक्लामा अवतरण गर्यो। साँझ माउन्टेन फ्लाइटमा जाने योजना मौसम बिग्रेका कारण सफल भएन।
अनि मंगलबार बिहानलाई उक्त योजना सारियो। हेलिकप्टरसहित ६ जना लुक्लाकै होटलमा बसे।
मंगलबार बिहान माउन्टेन फ्लाइट भर्नुअघि हेलिक्टर तेल भर्न सुर्के हेलिप्याडमा अवतरण गर्यो।
त्यसपछि माउन्टेन फ्लाइट्का लागि उड्यो । फ्लाइट सफल भएपछि फेरि सुर्के हेलिप्याडमा तेल भरेर हेलिकप्टर लुक्ला हुँदै काठमाडौं आउने लागेको थियो ।
तर, बीचमै दुर्घटना भयो।
‘पाइलटले आकाशमा बादल भएमा अलिक तलबाट डाँडा नभएको ठाउँ हुँदै लैजान्छन्, त्यही प्रयास गर्ने क्रममा हेलिकप्टर बादलभित्र पसेको हुनसक्छ,’ सेफ्टी म्यानेजर न्यौपानेले भने, ‘त्यसबेला नियन्त्रण गुम्छ र कतै गएर ठोक्किएपछि दुर्घटना भइहाल्छ, अनि सम्पर्कविहीन हुन्छ।’
क्याप्टेन गुरुङले लुक्ला टावरका एटीसीसँग टेकअफको जानकारी दिएका थिए।
तर, मनाङको हेलिकप्टर उडेको ६/७ मिनेट पछि कुनै जानकारी टावरले पाएन।
टावरसँग सम्पर्कविच्छेद भएपछि दुर्घटना भएको अनुमानमा सेना र प्रहरी परिचालन गरिएको थियो।
माउन्टेन फ्लाइट सफल भएको सेलिव्रेट गर्ने योजनामा रहेका पाँच जना मेक्सिकनले त्यो अवसर पाएनन्। काठमाडौं नआइपुग्दै पहिलो पटक नेपाल घुम्न आएका उनीहरू सबैको निधन भयो।
यो पनि पढ्नुहोस्:
- ५ जना विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
- सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर
- मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए पाइलट
- स्थानीयले दिए लामाजुरामा हेलिकप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
- बेपत्ता हेलिकोप्टर खोज्न अर्को हेलिकप्टर परिचालन
- लिखुपिकेका उपाध्यक्ष भन्छन् : लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सुन्यौँ
- स्थानीय भन्छन्- हेलिकप्टर पहाडमा ठोक्किएको आवाज सुन्यौँ
- यी हुन् मनाङको हेलिकप्टरमा सवार ५ मेक्सिकन नागरिक
- रुखमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङको हेलिकप्टर, पाँचवटा शव भेटिए
- हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक १५ दिने भिसामा आइतबार आएका थिए काठमाडौं
- उडानअघि सुर्केमा पाइलटले भनेका थिए- हतार छ, ११ बजे काठमाडौं पुग्नुपर्छ
- हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको पुष्टि
- उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थल नजिक अवतरण हुन सकेनन्
- चार वर्षअघि सोलुखुम्बुमै दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन गुरुङ
- सोलुखुम्बु दुर्घटना : उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि पुग्यो
- मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने
Shares
प्रतिक्रिया