ad ad

समाज


अन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात, १२० जनाको हेलिकोप्टरबाट उद्धार

अन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात, १२० जनाको हेलिकोप्टरबाट उद्धार

वाशुदेव मिश्र
माघ ४, २०७६ शनिबार ११:४६,

अन्नपूर्ण आधारशिविर नजिक देउराली र हिम्कु केभको बीचमा हराइरहेका ४ जना कोरियाली र ३ जना नेपाली गाइडको अवस्था अझै पनि अज्ञात नै छ।

उद्धारका लागि गएको टान तथा प्रहरीको टोलीसँग सम्पर्क हुन सकेको छैन। उद्धारको लागि गएका पर्यटन व्यवसायी विजय केसीका अनुसार उनीहरु अहिले पदयात्रा मार्गको दोबानमा रहेका छन्। दोबानबाट आफूहरु माथि जान नसकेको उनले जानकारी दिए।

कास्कीकाे अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्।

हराइरहेका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन्। यसैगरी हिमपहिरोमा हराइरहेका तीन नेपालीमध्ये सरोज परियारको मात्र नाम खुलेको छ। बाँकी दुईको परिचय खुल्न बाँकी छ।

‘यहाँबाट घटना भएको ठाउँमा जान ४ घण्टा लाग्छ’, व्यवसायी  केसीले भने, ‘अब यो हप्ता त्यहाँ कुनै पनि रेस्क्यु टिम पुग्ने सम्भावना छैन। पहिरो ठूलो छ रे, हिउँ पग्लिनै पर्छ। यता भएका बाँकी पर्यटकहरु सबै तल झरिसकेका छन्।’

उद्धारमा खटिएको हेलिकोप्टरले अन्नपूर्ण आधार शिविर, देउरालीतिर भएकाहरुलाई छोम्रोङ झारिरहेको उनले जनाए। करिब १ सय २० जनालाई तल छोम्रोङ झारिएको उनको भनाइ छ। भोलि जसरी पनि घटनास्थल पुग्ने लक्ष्य राखिएको पनि उनले जनाए।

उनका अनुसार अहिलेसम्म ७ जना मात्रै हराएको बताइए पनि त्यो संख्या बढ्न सक्छ। उनीहरुको टोलीमा एक जना पर्यटक प्रहरीसहित ९ जना रहेका छन्। 

याे पनि: अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक हिमपहिराे बीचमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .