सय किलो सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका राकेशकुमार अडुकियाले भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको खुलेको छ। उनले रोहन अडुकिया नामको भारतीय पासपोर्ट प्रयोग गर्ने गरेका छन्।
राजस्व अनुसन्धान विभागले हङकङबाट आएको क्विन्टल सुनकाण्डमा संलग्न भएको आशंकामा उनीमाथि अनुसन्धान गरिरहेको छ।
अडुकियाको यात्रा विवरण पनि निकै शंकास्पद देखिएको छ। गएको एक वर्षको अवधिमा अडुकियाले दुई सय १२ पटक संयुक्त अरब एमिरेट्स (यूएई) र हङकङको यात्रा गरेको आश्चर्यजनक विवरण नेपालखबरले अध्यागमन विभागबाट प्राप्त गरेको छ। जुन विवरण अध्यागमनले राजस्व अनुसन्धान विभागमा पठाइसकेको छ।
अडुकियाको यात्रा शंकास्पद देखिएपछि अध्यागमन विभागले उनको ‘ट्राभल हिस्ट्री’ नै राजस्व विभागमा पठाएको हो।
अध्यागमन विभागले राकेशले प्रयोग गर्ने रोहन अडुकिया नामको भारतीय पासपोर्ट पनि कालोसूचीमा राखिसकेको छ।
अडुकिया बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, गाडी, हर्बल व्यवसायी हुन्। सेयर लगानीकर्ताले अडुकियालाई सेयर बजारका ‘पुराना खेलाडी’ को रुपमा चिन्छन्।
‘अडुकिया सेयर कारोबारमा बढी चलखेल गर्ने खेलाडीको रुपमा चिनिन्छन्,’ एक ब्रोकर कम्पनीका सञ्चालकले भने, ‘उनी हर्षद मेहता शैलीमै कारोबार गर्थे। लगानी फसेपछि अहिले बजारमा देखिनेगरी कारोबारमा छैनन्।’
अडुकियाले बैंक तथा वित्तीय संस्थामा पनि लगानी गरेका छन्।
सन् २००४÷०५ आर्थिक वर्षमा राकेश अकुडिया लक्ष्मी बैंकको निर्देशक थिए। उनी सर्वसाधारण सेयरधनीको तर्फबाट निर्देशक बनेका थिए।
राकेशलाई गोर्खा विकास बैंक डुबाएको अरोप लाग्दै आएको छ। उनी सञ्चालक रहँदा सो बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी आफ्नो अधीनमा ल्याएको थियो।
राष्ट्र बैंकले नै विकास बैंकलाई गोर्खा फाइनान्सको रुपमा सञ्चालन गर्ने अनुमति दिएको थियो। जुन हाल सञ्चालनमा छ। अडुकिया विकास बैंक प्रकरणमा पक्राउ समेत परेका थिए। पुनरावेदन अदालत पाटनको आदेशपछि उनी छुटेका थिए।
लक्ष्मी बैंकको सञ्चालक हुँदा नै अडुकिया नेपाल मेन्था प्रोडक्सन प्रालिको कार्यकारी निर्देशक थिए। नेपाल हर्बस् एन्ड हर्बल प्रोडक्सन एसोसिएसनका अध्यक्ष, नेपाल रेमिट्यान्स एसोसिएसनका सह–सचिव रहेका उनी नेपाल उद्योग परिसंघमा परिषद् सदस्य समेत थिए।
सन् १९७५ को अगस्टमा जन्मिएका उनी चलचित्र निर्माता पनि हुन्। बीपी कोइरालालिखित तीन घुम्ती उपन्यासमा आधारित फिल्म उनैले निर्माण गरेका हुन्। सुनकाण्ड सार्वजनिक भएलगत्तै राकेश नेपालबाहिर गएको राजश्व अनुसन्धान र अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्।
तर, सय किलो सुन तस्करीमा आफू संलग्न नभएको अडुकियाको दाबी छ। आफ्नो बारेमा भ्रम छरिएको उनले दाबी गरे।
‘मेरो कुनै संग्लनता नभए पनि आरोप लगाएर इस्युलाई डाइर्भट गर्न खोजिएको छ,’ सय किलो सुनकाण्डमा आफ्नो नाम जोडिएपछि राकेश अडुकियाले नेपालखबरसँग भने, ‘मुख्य अभियुक्तलाई छाड्नेगरी विषय मोडिएको छ।’
उनले सरकारलाई पूर्णरुपमा अनुसन्धान गर्न दिनुपर्ने बताए।
‘सरकारलाई अनुसन्धान गर्ने अधिकार छ। शंका गर्न सक्छ,’ राकेश भन्छन्, ‘सरकारले मसँग सोधपुछ गर्न चाहे सबै कुरा बताउँछु।’
उनले आफू रहेको स्थान पनि खुलाउन चाहेनन्। तर सरकारको अनुसन्धानमा विश्वास रहेको उनको भनाइ छ।
‘सरकारी अधिकारीप्रति पूर्ण विश्वास रहनु पर्छ,’ राकेश भन्छन्, ‘सरकारले देशका जुनसुकै व्यक्तिलाई शंका गर्न सक्छ। तर संलनता हुन्छ नै भन्ने छैन।’
नेपालमा टेस्लाको बिक्रेता, नेपाल–अमेरिका चेम्बर सदस्य
अमेरिकाको बहुराष्ट्रिय कम्पनी टेस्ला ब्रान्ड नेपालमा अडुकियाले नै भित्र्याएका हुन्। उनले एउटा कम्पनीबाट ल्याउँदा भन्सारमा झन्झट बेहोरेको भन्दै अर्को कम्पनी खडा गरी टेस्लाको गाडी नेपालमा बिक्री गरिरहेका छन्।
सुरुमा हङकङमा रहेको राकेशकुमार अडुकियाकै साउथ चाइना एक्जिम लिमिटेडबाट टेस्लाका कार श्रीमा डिस्ट्रिब्युटर्समार्फत नेपाल भित्र्याएका थिए। तर शंकास्पद लागेको भन्दै भन्सारबाट छुटेका मोडल एक्सलाई फेरि भन्सार फिर्ता पठाइएको थियो। त्यसपछि उनले अरेत इन्टरनेसनल नामक कम्पनी खडा गरी कार भित्र्याउन थालेका हुन्।
श्रीमा डिस्ट्रिब्युटर्स र अरेत इन्टरनेसनल दुवैले राकेशकुमार अडुकियाकै साउथ चाइना एक्जिम लिमिटेड मार्फत गाडी भित्र्याएका हुन्।
नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सदस्य हुँदा नै उनले आफू टेस्लाको बिक्रेता रहेको देखाएका छन्। अहिले टेस्लाका गाडी बिक्री गरिरहेको अरेत इन्टरनेसनल प्रालिको बोर्ड सल्लाहकार रहेको उनले उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया