नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका १७ जनामध्ये ११ जनाको कैफियत प्रतिवेदन जिल्ला अदालत काठमाडौंले उच्च अदालत पाटनमा परेको छ।
आफूहरुलाई थुनामा पठाउने आदेशविरुद्ध १७ मध्ये १५ जनाले उच्च अदालतमा रिट हालेपछि जिल्लाले कैफियत प्रतिवेदन पठाइदिएको हो।
उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीका अनुसार रिट निवेदक १५ जनामध्ये ४ जनाको कैफियत प्रतिवेदन आउन बाँकी छ।
‘त्यो कैफियत प्रतिवेदन जिल्ला अदालत काठमाडौंबाट आइसकेपछि मुद्दाको पेसीमा चढ्ने छ’, उनले भनिन्, ‘अन्य ११ जनाको कैफियत प्रतिवेदन आइसकेको छ। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुले छुट्टाछुट्टै रिट निवेदन हालेका छन्।’
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन्।
पुर्पक्षका लागि थुनामा रहेका रायमाझी, खाँण र पाण्डेसहित १५ जनाले अलग अलग रिट हालेकाले अब उच्च अदालतले ती सबैलाई सँगै राखेर हेर्ने आदेश दिने छ।
प्रवक्ता शाहीका अनुसार उक्त प्रकरणमा थुनामा रहेका अभियुक्तहरु रामशरण केसी, आशिष बुढाथोकी र केशव दुलालको कैफियत प्रतिवेदन आउन बाँकी छ। त्यसैगरी १० लाख धरौटीमा छुटेका टंक गुरुङको पनि कैफियत प्रतिवेदन आइसकेको छैन।
यसअघि जिल्लाको आदेशविरुद्ध उनीहरुले छुट्टाछुट्टै निवेदन दिएपछि एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
इजलासले सबै निवेदनमा कैफियत प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो। त्यसपछि चारजनाबाहेकको प्रतिवेदन प्राप्त भएको प्रवक्ता शाहीले बताएकी छन्।
यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए।
तर यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। बाँकी १६ जनालाई केन्द्री कारागार सुन्धारामा चलान गरिएको छ।
त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २८ गते पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत थिए। उक्त मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका खुलेको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन्।
Shares
प्रतिक्रिया