रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ कोटजहारीका सुशील योगी १८ वर्षका भए। उनले यसपटक कक्षा १२ को परीक्षा दिए।
परिवारसँगै हाल चितवनमा बस्ने उनले नतिजा आउँदासम्मको फुर्सदको समयमा देश घुम्ने योजना बनाए।
तर उनीसँग पैसा थिएन। सानैदेखिको देश घुम्ने उनको चाहनालाई पैसाले छेकेन। जेठ १६ गते उनी घरबाट बेखर्ची देशका ७७ वटै जिल्ला घुम्ने भनेर निस्किए।
झापाबाट आफ्नो यात्रा सुरु गरेका उनी मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका थिए। योसँगै ४२ जिल्लाको भ्रमण सकेको सुशील बताउँछन्।
‘सानैदेखि देशका सबै जिल्ला घुम्ने चाहना थियो, राम्रोसँग नेपाल बुझ्ने सोच थियो,’ सुशीलले भने, ‘तर पैसा थिएन, एक रुपैयाँ पनि नबोकेर घरबाट निस्किएको हो।’
उनको हातमा मोबाइल हुन्छ। पिठ्युँमा बोकेको एउटा झोलामा नेपालको झण्डा राखेका छन्। जिल्ला जिल्ला पुगेर त्यहाँका पर्यटकीय स्थलको तस्बिर र भिडिओ कैद गरिहाल्छन्, उनी।
भ्रमणका क्रममा देखेको सकरात्मक/नकरात्मक कुरा उनी डायरीमा टिप्छन्। सुशील दुई महिनादेखि कहिलै हिँडेरै त कहिल्यै भोकभोक अनवरत यात्रामा छन्।
‘गाडीमा लिफ्ट माग्छु, नपाउँदा पैदलै पनि हिँडेको छु’ उनले भने, ‘सुरुआतमा त कति दिन खाना नपाएर भोकै पनि बसेँ।
खाना बस्नको लागि अचेल स्थानीय बासिन्दा, स्थानीय तह तथा प्रहरीसँग सहयोग माग्ने गरेको उनले सुनाए।
‘भोक केहो भन्ने यात्रामा निस्केपछि थाहा पाए, सुरुआतमा निकै अफ्ठ्यारो भयो,’ उनले भने, ‘बाटोमा प्रायः सबैले सहयोग गर्नुभएको छ, बिना खर्च देश घुम्ने मेरो सपना पूरा हुँदैछ।’
जेठ १६ मा घरबाट निस्किँदा उनी सुरुमा ट्रकलाई अनुरोध गरेर काँकडभिट्टा पुगेका थिए। त्यहाँबाट इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, सप्तरी हुँदै सिरहा छोएर उदयपुरतर्फ लागेका थिए।
४२ जिल्ला घुमिसकेका उनी कञ्चनपुरबाट खप्तड राष्ट्रिय निकुञ्ज जाने बताउँछन्।
नेपालको भूगोल, समाज र मान्छेलाई गहिराइबाट चिन्नका साथै पर्यटन प्रवद्र्धनका लागि भ्रमणमा निस्किएको उनले बताए।
७७ जिल्लाकै यात्रापछि यात्रा संस्मरण समेटेर पुस्तक लेख्ने योजना रहेको उनले बताए। ‘यो यात्राको क्रममा हाम्रो भाषा, संस्कृति तथा भूगोलका बारेमा जान्न पाएँ,’ उनी भन्छन्, ‘पर्यटकीय सम्भावना अथाह रहेकोले त्यसको प्रवर्द्धनमा लाग्नु जरुरी देखियो।’
बाटोमा सहयोग माग्दा कतिपयबाट निकै नमिठो वचनसमेत पाएको उनले बताए। सबै कुराले आफूलाई सिकाइ भएको र त्यसले जीवनमा ठूलो सहयोग पुग्ने उनको आशा छ।
उनका बुबा नरेन्द्र योगी मजदुरीका लागि भारतमा छन्। आमा भर्दशिला चितवनमै भाडाको जमिनमा कृषि गरिरहेकी छन्।
उनले जब नेपाल घुम्न प्रस्ताव राखे बुबाआमा कसैले सहमति जनाएनन्। त्यही पनि उनले धेरै विश्वास दिलाएर घरबाट निस्किए ।
‘म घरबाट हिँडेको तेस्रो दिन आमाले फोन गरेर रुनुभएको थियो, बाटो खर्च पठाउँछु, फर्केर आऊ भन्नूभयो,’ सुशील भन्छन्, ‘आमा रोएको सुन्दा निकै दुःख लाग्यो, तर मैले फेरि सम्झाएँ र उहाँ मान्नुभयो।’
उनका अनुसार ५ महिनाभित्र देशका ७७ जिल्लाको भ्रमण यात्रा सकिनेछ।
Shares
प्रतिक्रिया