ad ad

समाज


भीभीआईपीको उपचार अब नेपालमै हुने, सरकारले बनायो स्वास्थ्य उपचार समिति

भीभीआईपीको उपचार अब नेपालमै हुने, सरकारले बनायो स्वास्थ्य उपचार समिति

नेपालखबर
साउन २२, २०८० सोमबार ६:५९, काठमाडौँ

सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो।

समितिमा प्राडा भगवान कोइराला, डा.सन्दुक रुइत, डा.भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा रविमान श्रेष्ठ, प्राडा किरणप्रसाद श्रेष्ठ, प्राडा रत्नमणि गजुरेल, प्राडा सुवास आचार्य, प्राडा शशी शर्मा, प्राडा रमेश चाखनी, सह प्राडा ध्रुव गैरे, डा.पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा.अनन्त अधिकारी सदस्य छन्।

नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको हो।

समितिले वीर अस्पतालबाट भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्ने लगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गर्नेछ।

समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए।

‘अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने?,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .