नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंह सय किलो सुनकाण्डमा आफ्नो नामा जोडेको भन्दै काठमाडौँपाटी डटकमविरुद्ध प्रेस काउन्सिल पुगेका छन्।
काठमाडौँपाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन्। सिंहले काठमाडौँपाटी अनलाइनले २१ साउनको एउटा खबरमा आफ्नो नामसमेत सुन तस्करी प्रकरणमा जोडेको भन्दै सो खबरबाट आफ्नो प्रतिष्ठामा चोट पुर्याएकाले कारबाहीको माग गरेका छन्।
‘काठमाडौँपाटी अनलाइनले राजश्व अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएको सुनसँग सम्बन्धित व्यक्तिसँग मलाई जोडेर समाचार प्रकाशित गरेकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सिंहले उजुरीमा भनेका छन्, ‘भ्रमपूर्ण समाचार प्रकाशित गरी निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा अन्यौल सिर्जना गरेकाले कानुनी कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छु।’
काठमाडौँपाटीले सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग नेपाल प्रहरीका पूर्व महानिरीक्षकद्वय धिरजप्रताप सिंह र सर्वेन्द्र खनाल निरन्तर सम्पर्क रहेको उल्लेख गर्दै रिपोर्ट प्रकाशित गरेको थियो।
Shares
प्रतिक्रिया