ad ad

समाज


बल्खुमा महिलाको हत्या गरेर भागेका अभियुक्त जेलभित्र भेटिए, चोरेपछि शिवराम बने अर्जुन

बल्खुमा महिलाको हत्या गरेर भागेका अभियुक्त जेलभित्र भेटिए, चोरेपछि शिवराम बने अर्जुन

नेपालखबर
साउन २९, २०८० सोमबार १४:५, काठमाडौँ

६ वर्ष पहिले काठमाडौंको बल्खुमा महिलाको हत्या गरेर भागेका व्यक्ति केन्द्रीय कारागार सुन्धारामा फेला परेका छन्।

मकवानपुरको मनोहरा गाउँपालिका ३ की ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत फेला परेकी थिइन्।

ज्यामी काम गर्ने उनको हत्या भने अघिल्लो रात नै भएको त्यतिबेलै खुलेको थियो। उनको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा बल्खुको भुवनेश्वर मन्दिर पछाडि शव फेला परेको थियो।

सोही हत्याका अभियुक्त शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा केन्द्रीय कारागारमा फेला पारेको हो।  

घटना लगत्तै प्रहरीले अभियुक्तको खोजी गरिरहेको थियो। घटनाको ६ वर्षपछि प्रहरीले उनलाई जेलभित्रै फेला पारेर हत्या अभियोगमा अनुसन्धान अगाडि बढाएको छ।

शिवरामलाई खोज्दै यसरी पुग्यो प्रहरी कारागार
मृतकको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो। उक्त मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले शवको सनाखत गरेका थिए।

घटना घटेको दिन मृतकसँग बारम्बार फोन सम्पर्क भएका नम्बरहरुको अनुसन्धान गर्दै जाँदा बढी समय फोन सम्पर्क गर्ने व्यक्ति नारायणीसँगै ज्यामी काम गर्ने धादिङ मुलपानी घर भएका शिवराम अधिकारी भएको पुष्टी भएको थियो।

शिवराम अधिकारीको खोजतलास गर्दा घटनापछि उनी फरार रहेको पाइएको थियो। जसले उनको संलग्नता रहेकोमा प्रहरी थप ढुक्क भयो।

प्रहरीले परिवारका सदस्यसँग भेटी शिवरामकोबारे बुझ्दा २०७४ पुस २९ गतेदेखि घर नआएको र परिवारका सदस्यलाई फोन सम्पर्क पनि नगरेको जानकारी गराएका थिए। त्यसपछि प्रहरीले शिवरामको निरन्तर खोजी गरिरहेको थियो।

घटनापछि शिवराम उदयपुरको कटारी गएर बसेका थिए। तर प्रहरीले खोजिरहेकाले त्यसपछि उनी सिराहाको मिर्चैयामा देखा परेका थिए।
 
त्यसको केही दिनपछि मकवानपुर पुगे र त्यहाँबाट धादिङको सल्यानटार गएका थिए।

घटना पश्चात प्रहरीको निरन्तर खोजतलासका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पनि पुगेको थियो। तर फेला पार्न सकेको थिएन।

प्रहरीले उनको खोजी भने निरन्तर गरिरहेको थियो। पछिल्लो समय काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली त्यो क्षेत्रमा गई स्थानीयलाई शिवरामको फोटो देखाएर सोधखोज गर्यो। स्थानीयले हाल ती व्यक्ति देखा नपरेको तर उनका परिवार रहेको टहरा देखाइदिएका थिए।

प्रहरी त्यहाँ पुगेर हेर्दा शिवराम भने फेला परेनन्। शिवरामकी श्रीमती नानिमाया अधिकारीको टेलिफोन पनि प्रहरीले परीक्षण गर्यो। नानिमायाले कारागारमा निरन्तर सम्पर्क गरेको देखियो।

त्यसपछि प्रहरीको अनुसन्धान कारागारतर्फ सोझिएको थियो। नानिमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने गरेको पाइयो।

अर्जुन अधिकारी भनिएका व्यक्तिको बारेमा प्रहरीले आफन्तसँग सोधखोज गर्यो। आफन्त मार्फत नै उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो।

केन्द्रीय कारागारमा प्रहरीले पत्राचार गरी उनको बारेमा जानकारी माग गरेको थियो।

कारागारले २०७९ कात्तिक ६ गते चोरी गर्दा गर्दै थानकोट प्रहरीले पक्राउ गरेको र २०७९ कात्तिक २९ गते नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय सुनाई उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागारमा रहेको जानकारी दिएको थियो।

कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिधीबाट समेत सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाएको कार्यालय प्रमुख एसएसपी डा. मनोजकुमार केसीले जानकारी दिए। प्रहरीले उनीविरुद्ध पीडित पक्षको जाहेरी समेत लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .