ad ad

समाज


भारतको करिब ७ करोड लगानीमा चन्द्रागिरिमा विद्यालय भवन निर्माण

भारतको करिब ७ करोड लगानीमा चन्द्रागिरिमा विद्यालय भवन निर्माण

नेपालखबर
साउन ३०, २०८० मंगलबार १९:२३, काठमाडौँ

भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ। 

भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंको उक्त विद्यालयको नवनिर्मित भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायत उपस्थित थिए।

सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ६ करोड ९ लाखको लागतमा विद्यालय भवनको निर्माण गरिएको हो।

नवनिर्मित संरचनामा दुईवटा ब्लक छन्। जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि छन्।

यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० भन्दा बढी विद्यार्थीलाई फाइदा पुग्नेछ। यसले प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ।

यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी  डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो।

यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको भारतीय दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .