पानी पर्ने क्रम फेरि बढ्ने सम्भावना देखिएको छ। मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने माैसम प्रणाली) नेपालनजिक भएसँगै फेरि भारी वर्षाको सम्भावना देखिएको हो।
पानी पर्न केही कम हुँदै सोमबारयता भारी वर्षा भएको थिएन। तर आज (बुधबार) राति भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो (दिनमा) सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
‘न्यून चापीय रेखा आज र भोलि नेपाल नजिक नै रहने सम्भावना देखिएको छ’, महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘एक/दुई दिनपछि उक्त रेखा आफ्नो सरदर स्थान (नेपालबाट अलि टाढा दक्षितर्फ) जाने सम्भावना छ।’ मौसमविद्का अनुसार न्यून चापीय रेखा नजिक आउँदा नेपालमा वर्षा हुने क्रम बढ्न छ भने टाढा हुँदा घट्छ।
काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकामा हल्का मात्र वर्षाको सम्भावना देखिएको छ।
‘अपराह्नतिर काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् झाले भने।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया