गत आइतबारको बाढीले क्षतिग्रस्त बनाएको मुस्ताङको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोड रुपैयाँ बढी फेला परेको छ।
लेदोसहितको बाढीले बगाएकाे एक सातापछि उक्त परिमाणको रकम स्थानीयबासी र उद्धारमा खटिएका सुरक्षाकर्मीले १ करोड ५६ लाख ९५ हजार १९० रुपैयाँ भेट्टाएका हुन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बाढीले इन्भेष्टमेन्ट मेगा बैंकलाई ठूलो क्षति पुगेको थियो।
बाढीले ल्याएको लेदो खन्ने क्रममा सेना, प्रहरी र स्थानीयसहितले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको हो। उक्त रकम बैंकको लकरमै भेटिएको हो।
त्यस्तै आइतबार दिउँसो प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए।
उनका अनुसार प्रभु बैंकको भवन नै बाढीले लगेको थियो। त्यही भवनको भग्नावशेष खोतल्दा बैंकको लकर र त्यसभित्रको ५१ लाख ६२ हजार २२६ रुपैयाँ भेटिएको हो।
दुवै बैंकको रकम प्रशासनले बुझाइसकेको छ। लकरबाहिर केही साना दरका नोट पनि भेटिएका छन्।
Shares
प्रतिक्रिया