आज (सोमबार) देखि तीन दिन अर्थात् बुधबारसम्म ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसम सुधारोन्मुख छ। वर्षा त हुन्छ तर हल्कादेखि मध्यमसम्म मात्र। ठूलो वर्षाको सम्भावना छैन।
‘बादल पनि देशभर लाग्दैन’, उनले भनिन्, ‘कतिपय स्थानमा घाम लाग्छ।’
जसका कारण तापक्रमचाहिँ बढ्ने सम्भावना देखिएको उनले बताइन्। आज बिहान ७ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम आज बिहान ७ बजे २१ डिग्री सेल्सियस पुगिसकेको छ। आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान छ।
वर्षा कम भएसँगै घाम लाग्ने र त्यसले स्वाभाविक रूपमा तापक्रम बढाउने भएकाले आगामी ३ दिन गर्मी केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।
आज वर्षाको सम्भावना
आज (सोमबार) पनि देशभर मौसम बदली (आकाशमा बादल) र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज भारी वर्षाको सम्भावना भने छैन।
तराईमा आज हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म र देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको मात्र सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया