यतिबेला (मंगलबार बिहान ७ बजे) कोशी र बागमती प्रदेशका पहाडी भेगमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पछिल्लो एक घण्टामा कोशीको पहाडी भेगका एक/दुई स्थान र बागमती प्रदेशको पहाडी क्षेत्रकै थोरै स्थानमा हल्का वर्षा भइरहेको हो।
‘अहिले वर्षा विशेषगरी पहाडी भेगतिर भइरहेको छ’, उनले भने।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थान बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति देशका पहाडी भूभागको थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
काठमाडौंमा पनि वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
‘तत्काल (बिहान) त वर्षाको सम्भावना देखिन्न’, मौसमविद् झाले भने, ‘दिउँसोतिर हल्का वर्षा हुने सम्भावना छ।’
मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ– देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया