ad ad

समाज


३ महिनामा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, १५ अर्ब क्षति

३ महिनामा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, १५ अर्ब क्षति

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८० बिहिबार ८:३७, काठमाडौँ

मुलुकमा यस वर्ष मनसुन अवधि (जेठ ३१ देखि भदौ ८ गतेसम्म)मा नेपालमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ। 

मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका छन्। 

बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते भएका छन् भने २१ जना बेपत्ता छन्। यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन्। पहिरोमा परेर नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। भारी वर्षाका कारण दुई जनाको ज्यान गएको छ भने चट्याङबाट २१ जनाको मृत्यु भएको छ। चट्याङ लागेर ४३ जना घाइते भएका छन्।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ। त्यसबाट झण्डै आठ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
 

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ। मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए। 
  
मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब  ४१ करोडको क्षति भएको छ। 

बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ। 

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए। 

यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए। 

हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेका प्राधिकरणले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .