काठमाडौंबाट पठाइएको सामानमा हङकङमा गाँजा फेला परेपछि प्रहरीले छानबिन थालेको छ। काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र गाँजा फेला परेको हो।
हङकङको एसएफ कुरिएरले गाँजा फेला परेको भन्दै नेपालबाट सामान पठाउने कुरियर कम्पनीलाई जानकारी गराएको थियो। नेपालको कार्गो कम्पनीले जानकारी गराएपछि आफूहरूले अनुसन्धान गरिरहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोविन्द थपलियाले जानकारी दिए।
कति परिमाणमा गाँजा हङकङ पुगेको भन्ने एकिन जानकारी नआएको थपलियाले बताए। साउन २६ गते नेपाल एयरलाइन्समार्फत उक्त गाँजा पुगेको हो।
यसबारे प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो। जानकारी पाएलगत्तै ब्युरोले डीएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ।
उक्त दिन डिउटीमा खटिएका चारजना प्रहरीलाई विमानस्थलको डिउटीबाट हटाएर ब्युरोले छानबिन थालेको छ।
‘उक्त दिनको सीसीटीभी मगाएर हेर्दैछौं, अरु सोधपुछको काम पनि गरिरहेका छौं। प्रहरीको संलग्नतामा भएको हो कि अन्य प्राविधिक त्रुटिका कारण भएको हो। छानबिनको रिपोर्ट आएपछि थाहा हुन्छ- अहिले त्यो दिन डिउटीमा खटिएका चारजना प्रहरीलाई ब्युरोमा बोलाएर अनुसन्धान गरिरहेका छौं’, एसएसपी थपलियाले भने।
यो घटना छानबिनका लागि डीएसपी अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति बनाइएको छ।
विराट कार्गो कम्पनीले हङकङको एसएफ एक्सप्रेस कार्गो कम्पनीलाई सामान पठाएको थियो। तर हङकङ विमानस्थलमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएपछि त्यहाँको कार्गो कम्पनीले यहाँको कम्पनीलाई जानकारी गराएको थियो।
त्यसपछि विराट कार्गो कम्पनीले प्रहरीलाई जानकारी गराएको हो।
त्यो दिन कार्गोको डिउटीमा लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ सई निरन्जन पनेरु, असई कैलाश राउत र विष्णुबहादुर थापा तथा हवलदार प्रदीप बस्नेत थिए। उनीहरूलाई तानिसकेको एसएसपी थापाले बताए। उनीहरूको काम नै लागुऔषध चेकजाँच गर्ने हो। तर उनीहरूले मिलेमतो गरेर पठाए कि प्राविधिक रुपमा त्रुटि भयो भन्ने एकिन हुन बाँकी रहेको उल्लेख गर्दै एसएसपी थापाले संलग्न देखिए कारबाही हुने बताए।
पनेरु लामो समयदेखि लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलको डिउटीमा खटिइरहेका छन्। सरुवा गरे पनि उनी च्यानल मिलाएर त्यहीँ पुग्ने गरेको ब्युरोका एक अधिकारीले बताए।
उनले भने, ‘पहिले दीलिप चौधरी इन्चार्ज हुँदा उहाँलाई हटाइएको थियो। तर पछि फेरि च्यानल मिलाएर विमानस्थलकै डिउटीमा जान थाल्नुभयो। पछिल्लो ९ वर्षदेखि उहाँको डिउटी यस ब्युरोमा छ।’
पनेरुकै सेटिङमा गाँजा हङकङ पुगेको ब्युरोको प्रारम्भिक अनुमान छ।
हङकङबाट तस्करले ६० किलो बढी सुन भित्र्याएको घटनाको अनुसन्धान चलिरहँदा नेपालबाट हङकङमा गाँजा पठाएको खुलेको हो।
६० किलो सुन तस्करीको विषयमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै लागि सीआईबीका एसएसपी दीनेशकुमार आचार्य हङकङ गएका छन्।
अब एक सातामा यो मुद्दा बुझाउने प्रहरीको तयारी छ। सुन तस्करीको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परिसकेका छन्।
Shares
प्रतिक्रिया