ad ad

समाज


सुगाको बथानले मकैबाली सखाप

सुगाको बथानले मकैबाली सखाप

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:३२, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ। 

सुगाको बथानले मकै खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन्।
 
बथानका बथान सुगा बिहान र साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गंगा बोहराले बताइन्।

‘दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ’, उनले भने, ‘मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेको छ।’ सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले बताए।

बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका किसानहरुको भनाई छ। ‘एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्’, सिमलफाँटाका रामबहादुर चौधरीले भने, ‘सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ।’

दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्किने गरेको चौधरीले बताए। खेतमा छरेको मकैको  बीउसमेत उठाउन मुस्किल हुन थालेको गुनासो उनले गरे। 

सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन्।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए।

सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए। 

निकुञ्ज कार्यालयसँग क्षतिपूर्ति माग गर्दै आए पनि सुनवाइ नभएको किसानहरुले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .