कानुनद्वारा निषेधित खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्याङ्जामा एकजनाले ज्यान गुमाएका छन्।
खोलामा माछालाई लगाएको करेन्ट आफैंलाई लागेपछि शुक्रबार बिहान २ बजे वालिङ नगरपालिका-६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाकाअनुसार उनको ज्यान गएपछि माछा मार्न गएका चार जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा वालिङ-६, थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा-१० का ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ-६ स्थित तारादेवी ब्लक उद्योगका मजदुर २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका-६ घर भई ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना छन्।
प्रहरीले माछा मार्न प्रयोग गरिएको तार, रड र बाँसका भाटा पनि बरामद गरेको छ। शव पोस्टमार्टमका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक लामाले बताए।
Shares
प्रतिक्रिया