कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान सहर यतिबेला ठप्प छ। सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि वुहान सहरको हवाई, मेट्रोसहित सार्वजनिक यातायातका सबै माध्यम बन्द गरेको छ। त्यहाँ रहेका नेपालीहरु पनि भाइरसबाट संक्रमित हुने भयले त्रस्त छन्।
वुहानमा केही नेपाली विद्यार्थी अध्ययनरत छन्। शुक्रबार नेपालखबरसँग उनीहरूले आफूहरु भयग्रस्त अवस्थामा बसिरहेको बताए।
वुहानस्थित हुवाङजोङ विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर तहमा अध्ययनरत पाटनकी नेलिया शाक्यले कोरोना भाइरसको त्रासको कारण पछिल्लो दुई दिनदेखि कोठाबाट बाहिर ननिस्केको बताइन्।
‘भाइरसको डर छ, दुई दिन भयो कोठाबाट बाहिर पनि निस्केको छैन,’ टेलिफोनमा शाक्यले नेपालखबरसँग भनिन्, ‘घरतिर पनि चिन्ता छ। तर एयरपोर्ट, सार्वजनिक यातायात सबै बन्द रहेको छ। खुल्नेबित्तिकै नेपाल आउँछु।’
शाक्य पछिल्लो डेढ वर्षदेखि वुहानमा बस्दै आएकी छिन्। उनको विश्वविद्यालयमा २५ जना नेपाली विद्यार्थी रहेको उनले बताइन्।
‘अहिले वसन्त पर्वको विदा भएकाले केही साथीहरु घर जानुभएको छ। यहाँ हामी १० जना जति छौं,’ शाक्यले भनिन्, ‘सायद एक सातापछि यातायात खुल्छ होला।’
शाक्यले बिदामा सांघाई घुम्न गएका केही नेपाली विद्यार्थी यातायात बन्द भएपछि उतै अड्किएको जानकारी दिइन्।
‘केही साथीहरु घुम्न सांघाई जानु भएको थियो, अहिले उतै अड्किनु भयो’, शाक्यले भनिन्, ‘उहाँहरु अब वुहान फर्किनुभन्दा नेपाल जाने सोचमा हुनुहुन्छ।’
वुहानको हुवाङजोङ विश्वविद्यालयकै अर्का विद्यार्थी प्रेम केसीले समूह बनाएर जाडो विादामा सांघाई घुम्न आएको तर कोरोना भाइरसका कारण वुहान बन्द भएपछि फर्किन नसकेको बताए।
‘हामी जाडो विदामा सांघाई घुम्न आएका थियौं तर, अहिले वुहान बन्द भएकाले फर्किन नमिल्ने भएपछि अर्को सहर इयू आएर बसेका छौं’, केसीले भने।
चीनका विभिन्न शहरहरुमा कोरोना भइरसको संक्रमण देखिन थालेपछि सरकारले १३ वटा सहरमा सार्वजनिक यातायात ठप्प पारेको छ भने बेइजिङस्थित प्रसिद्ध फर्बिडन सिटी र ग्रेटवालका केही हिस्सा समेत बन्द गरिएको छ।
हुवाङजोङ विश्विद्यालयमा स्ट्रकचरल इन्जिनियरिङमा विद्यावारिधि गर्दै गरेका काठमाडौंका सम्पत न्यौपानेले सरकार र विश्वविद्यालयले विद्यार्थीहरुलाई बाहिर नजान आग्रह गरेको बताए।
‘विश्वविद्यालमा धेरै वटा अपार्टमेन्ट छन्, त्यहाँ प्रवेश गर्दा समेत भाइरसबाट संक्रमित हो कि होइन भनेर ‘बडी स्क्यान’ गरेर मात्रै छिराउने गरेको छ,’ न्यौपानेले भने, ‘हामी आफ्नो अपार्टमेन्टमा बसेका छौं। बाहिर ननिस्कनु भनेको छ। खानेकुरा सकिन लाग्यो भनेर प्रशासनमा खबर गरेका छौं। मलाई चाहिँ त्यस्तो डर लागेको छैन।’
विश्वविद्यालयको प्रशासनले खानेकुराको प्रबन्ध चाँडै हुने जानकारी गराएको उनले बताए। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारी न्यौपाने डेढ महिनाअघि मात्र वुहान पुगेका हुन्।
शाक्यले भिडभाडका कारण विश्वविद्यालयको क्यान्टिन पनि बन्द गरिएको बताइन्।
‘पहिले क्यान्टिनमा खान्थ्यौँ। मानिस जम्मा हुनसक्ने भन्दै अहिले त्यो बन्द गरिएको छ,’ शाक्यले भनिन्, ‘अहिले त कोठामै खाना बनाएर खान्छौं।’
न्यौपाने र शाक्य दुवैले हुबेइ प्रान्तको वुहान सहर पूरै ठप्प अवस्थामा रहेको बताए।
‘अति आवश्यक काम भए मात्रै बाहिर निस्कनु भन्ने निर्देशन छ,’ न्यौपानेले भने, ‘बाहिर जानेहरुलाई अपार्टमेन्ट मै मास्क वितरण गर्ने गरिएको छ।’
पहिले कोरोना भाइरसबारे जानकारी पाउन सञ्चारमाध्यमको भर पर्नुपरे पनि अहिले सरकारले नै पर्याप्त मात्रामा सूचना र जानकारी उपलब्ध गराउन थालेको शाक्यले बताइन्।
‘विच्याटको सरकारी एकाउन्टबाट सबै जानकारी आउँछ। यस्तो जानकारी अंग्रेजी र चिनियाँ दुवैमा हुने गरेको छ। चिनियाँ भाषामा आयो भने ट्रान्सलेसन गरेर पढ्ने गरेका छौं,’ शाक्यले भनिन्।
न्यौपानेले विश्वविद्यालयले नै के गर्ने के नगर्नेसहितका विषयमा पर्याप्त जानकारी दिइरहेको बताए।
‘नेपालमा घरमा भने हाम्रो चिन्ता गरिरहनु भएको छ। तर हामी निरन्तर सम्पर्कमा छौँ,’ न्यौपानेले भने।
शाक्य र न्यौपाने दुवैले अवस्था सामान्य नहुन्जेल विश्वविद्यालय खुल्ने सम्भावना नरहेको बताए।
‘फेब्रुअरीको पहिलो साता खुल्ने कुरा थियो, तर अब पर सर्छ होला,’ शाक्यले भनिन्।
प्रतिक्रिया