ad ad

समाज


बेपत्ता मेजर विमल पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

बेपत्ता मेजर विमल पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

नेपाली सेनाका मेजर विमल पण्डित


नेपालखबर
भदौ २६, २०८० मंगलबार १७:११, काठमाडौँ

गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए।

दुईवटा ढुङ्गाको खोँचमा बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठीसहित ठूलो ज्यान भएको व्यक्तिको शव देखेपछि चौकीमा खबर गरेको सार्कीले बताए। उनले त्यो मेजरको शव हुन सक्ने सूचना प्रहरीलाई दिएका थिए। 

सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो।

त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली खटिएको थियो। नेपाली सेनाका मेजर रवि शाहको टोली पनि उद्धार सामाग्रीसहित चिण्ढेबगर पुगेको थियो।

प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेको थियो। त्यसपछि खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरिएको थियो।

घडी र औँठीबाट शव मेजरकै पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। 

शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायत स्थानीयसमेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ। 

शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए। 

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .