ad ad

समाज


लेखक तथा पत्रकार पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि

लेखक तथा पत्रकार पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि

नेपालखबर
भदौ २६, २०८० मंगलबार १९:३८, काठमाडौँ

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

स्वर्गीय पराजुलीको मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको हो। निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको थियो। साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउँथे।

उनले केही समय अघि मात्रै कथासंग्रह जन्तरमन्तर प्रकाशित गरेका थिए। उनका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्। पत्रकारको रुपमा उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा पनि काम गरेका थिए।

यसैबीच, साहित्यकारहरूले उनलाई समाजप्रति प्रतिवद्ध साहित्यकार र लेखकको रुपमा चित्रण गरेका छन्। साहित्यकार श्यामलले समाजको अन्तरकुन्तरमा पुगेर पात्रको चयन गरी साहित्य सृजना गर्नसक्ने साहित्यकारको रुपमा उनी रहेको बताए। उनी आफ्ना साहित्य रचनाहरुमा प्रश्तुत गरेका पात्रकै कारण लोकप्रिय हुनुभएको पनि श्यामलले बताए।

‘साहित्यमा एकदमै प्रतिवद्ध। कथा र कविता चाँही उहाँको खासगरी काम गर्ने क्षेत्र थियो। धेरैजसोले उहाँलाई कवि भन्दा कथाकारको रुपमा सम्झिन्छन्। उहाँ चाहीँ आफ्नो समाज वरतिर, परतिरको र आफ्नो पुस्ताको मनोविज्ञानको बारेमा लेख्ने, अलि बिद्रोहका कन्टेन्टहरु, आफ्ना कथामा विद्रोही चरित्रहरु, पात्रहरु राख्ने गर्नु हुन्थ्यो। र, उहाँ लोकप्रिय पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय उहाँले शुक्रराज शास्त्रीको चस्मा भन्ने शीर्षकबाट पुस्तक निकाल्नु भएको थियो। अस्ती भर्खरै अर्को निकाल्नु भयो। बडो क्रियाशील उहाँ। समाजप्रति प्रतिवद्ध, नेपाली समाजको अन्तरकुन्तरमा पसेर, चरित्रहरुलाई खोजेर कथामा प्रवेश गराउने उहाँमा विशेष खुबी थियो। मैले उहाँसँग यति लामो संगतमा उहाँ कसैलाई बिझाउने अथवा आक्रमक ढंगले प्रस्तुत हुने त्यस्तो भेटिँदैन। बहुत सरल, हषमुख। त्यसकारण उहाँका साथीहरू धेरै भए। उहाँले सम्पादनको क्षेत्रमा पनि धेरै राम्रो काम गर्नुभएको छ। समग्रमा उहाँ धेरै राम्रो कमिटेड प्रतिवद्ध साहित्यकार हुनुहुन्थ्यो। र, कथा र उपन्यास उहाँको विशेष क्षेत्र थियो।’

कवि गोपालप्रसाद पराजुलीले साहित्यकार राजेन्द्र नेपाली साहित्यले कदर गर्न योग्य पात्र भएको बताए। कविता, कथा र उपन्यासका तीन वटै विधामा कलम चलाउन सक्ने उनी गतिशील साहित्यकारको रुपमा पनि स्थापित भएको उनले बताए।

‘उहाँको कविता, कथा र उपन्यासमा पनि कलम चल्थ्यो। डाईनामिक टाईपको थिए। उनको योगदान नेपाली साहित्यले कदर गर्न योग्य छ। त्यो रुपमा नेपाली साहित्यले उनलाई सम्झनुपर्छ जस्तो लाग्छ,’ उनले भने।

लेखक तथा साहित्यकार अभय श्रेष्ठले स्वर्गीय पराजुलीमा साहित्यको अतिरिक्त राजनीति र अर्थ क्षेत्रमा पनि राम्रो दख्खल राख्ने गरेको बताए। उनले पत्रकारको रुपमा पराजुलीले आफूले देखेको कुरामा सम्झौता नगर्ने निडरता प्रर्दशन गरेको पनि बताए।

‘मिडियामा साहित्य संयोजन कसरी गरिन्छ? भन्ने कुरा उहाँले उदाहरण नै प्रश्तुत गर्नुभयो। उहाँ संयोजक रहँदा म आफैँ स्तम्भकारको पनि पनि रहेँ। उहाँमा के प्रवृत्ति थियो भने आफूले देखेको कुरामा सम्झौता नगर्ने। लेखन पनि उहाँको विविधता थियो। साहित्यमा उहाँको राम्रो दख्खल थियो। राजनीति राम्रोसँग बुझ्नुहुन्थ्यो। अर्थ क्षेत्रको राम्रो ज्ञान थियो,’ उनले भने।

साहित्यकारहरुले नेपाली मिडियामा साहित्य सृजनालाई प्राथमिकतामा साथ प्रकाशन तथा प्रशारण गराउन पनि स्वर्गीय पराजुलीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .