ad ad

समाज


भक्तपुरबाट १८ जना कैदी लगिएपछि वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते

भक्तपुरबाट १८ जना कैदी लगिएपछि वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते

नेपालखबर
भदौ २७, २०८० बुधबार ९:२६, काठमाडाैँ

पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा गएराति बन्दीहरुबीच झडप हुँदा ११ जना घाइते भएका छन्। 

दुई पक्षबीचको झडपले सुधार गृह रातभर तनावग्रस्त भएको छ। बुधबार बिहानदेखि भने अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए। 

‘थप झडप नहोस् भनेर हामीले बाल सुधार गृह परिसरमा प्रहरीको सुरक्षा सतर्कता बढाएका छौँ,’ एसपी शाहले नेपालखबरसँग भने, ‘झडप र आक्रमणमा परेर ११ जना घाइते भएका छन्। उनीहरुलाई राति नै नारायणी अस्पतालमा उपचारपछि हामीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेका छौँ।’

मंगलबार मात्रै भक्तपुरबाट १८ जना बालक र किशोरलाई सरुवा गरेर वीरगञ्जस्थित बाल सुधार गृहमा पुर्याइएको थियो। 

उनीहरुलाई त्यहाँ पुर्याउनासाथ विगतदेखि नै वीरगञ्जको सुधार गृहमा रहँदै आएकाहरु (बालक र किशोर)ले बिरोध गरेका थिए। 

‘भक्तपुरबाट लगिएका १८ जना बालक र किशोरलाई पहिल्यैदेखि त्यहाँ बस्दै आएकाहरुले यहाँ बस्न नदिने भन्दै बिरोध गरेछन्,’ एसपी शाहले भने, ‘उनीहरुबीच सुधार गृहको नियमको विषयमा कुरा नमिलेपछि विवाद बढ्दै गएको देखिन्छ। त्यसपछि कतिपय किशोर झडप र तोडफोडमा उत्रिएछन्।’

घाइते हुने ११ जना धेरैजसो भक्तपुरबाट गएकाहरु छन्। झडप नियन्त्रण गर्न गएका ३ ४ जना प्रहरी पनि घाइते भएका एसपी शाहले बताए। 

तोडफोडबाट बाल सुधार गृहको भौतिक संरचनामा केही क्षतिसमेत भएको छ। 

बाल सुधार गृहका प्रमुख टीका काफ्लेले सुधार गृहमा रहेका बालकहरुले भित्रबाट इट्टा र ढुंगा प्रहार गरेपछि झडप भएको जानकारी दिए।

उनीहरुले सुधार केन्द्रको भवन तोडफोड गर्नेगरी आक्रमण सुरु गरेपछि राति नै सुरक्षाको लागि पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बताए। 

यसअघि भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा बस्दै आएका रामेछापको मन्थली नगरपालिका–३ कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावग्रस्त बनेको थियो।

त्यतिबेला सानोठिमीको सुधार गृहबाट २२० जना कैदी भागेका थिए। भागेकामध्ये धेरै पक्राउ परेपनि केही कैदी अझै फरार छन्। 

वीरगञ्जस्थित बाल सुधार गृहमा बालक र किशोर गरी १ सय ४९ जनालाई राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .