ad ad

समाज


कांग्रेसमा उठ्यो ‘प्रतीक्षा’को म्याद थपको विषय : प्रचण्डले सेनामा रुकमाङ्गत प्रकरण दोहोर्‍याउन खोजेको आरोप

सेनामा असन्तुष्टि देखिएको दाबी
कांग्रेसमा उठ्यो ‘प्रतीक्षा’को म्याद थपको विषय : प्रचण्डले सेनामा रुकमाङ्गत प्रकरण दोहोर्‍याउन खोजेको आरोप

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १७:५५, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अवकाश जानबाट रोकेर केही दिनअघि म्याद थपिएका जर्नेल यामबहादुर अधिकारी 'प्रतीक्षा'को विषय उठाइएको छ।

दुई दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता जीतजंग बस्नेतले अवकाशमा गइसकेका अधिकारीको म्याद थप गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि सेनामा खेल्न खोजेको आरोप लगाएका छन्। 

‘जब जब प्रधानमन्त्रीमा प्रचण्ड आउँछन्, तब तब सेनालाई चलाउँछन्। पहिले पनि प्रधानसेनापति रुकमाङ्गत कटुवाललाई चलाए’, उनले भने, ‘माओवादीबाट समायोजनमा परेर पहिले (२०७६) मै चार वर्ष म्याद थपिएका
अधिकारीको अहिले फेरि म्याद थपिएको छ।’

बस्नेतले हुँदै नभएको पद ब्रिगेडियर जनरल बनाएर अहिले पनि चार वर्ष म्याद थपिएको भन्दै यसले सेनामा गम्भीर असन्तुष्टि जन्माएको पनि बताएका छन्। 

‘अहिले माओवादी लडाकुबाट आएर जर्नेलसम्म बनाइएका अधिकारीबारे फेरि सेनाले विधिविपरीत निर्णय गरे म्याद थपेको छ’, बस्नेतले भने, ‘म्याद पनि हुँदै नभएको कुरामा थपिएको छ। यसबारे सेनामा पनि असन्तुष्टि छ।’

उनले सेनाकै अधिकारीहरुले आफूलाई यो कुरा पार्टी बैठकमा राख्न भनेकाले बोल्नुपरेको पनि दाबी गरे।

‘उहाँहरु (सेनाका अधिकारी) ले बोलिदिनुस् भनेकाले यो कुरा उठाएको छु। कतै सेनामा कब्जा जमाउने त होइन’, उनले  भने, ‘हाम्रै उपसभापति सरकारको रक्षामन्त्रीका रुपमा हुनु हुन्छ। तर पनि यसबारे क्याबिनेटबाट निर्णय भएको छ।’ 

के हो प्रकरण?
सरकारले नेपाली सेनाका जर्नेल अधिकारीलाई अवकाशमा जानबाट फेरि पनि रोकिएको थियो। 

माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिँदा सबैभन्दा माथिल्लो दर्जा (कर्नेल) पाएका अधिकारी यही असोज १ गतेबाट अवकाशमा जानु पर्ने थियो।

तर रक्षा मन्त्रालयलाई पत्राचार गरेर जागिर थमौती गर्न भनेपछि कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले थमौती गरेका थिए। 

अधिकारीको यसअघि नै अवकाश सकिएको थियो। २०७६ असोजमै सकिए  पनि सैनिक नियमावली अनुसार एकपटकका निम्ति सहायक रथीमा पदोन्नति दिन सकिने व्यवस्थालाई टेकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बढुवा गरेको थियो। 

त्यसको म्याद चार वर्षको हुन्छ। जुन सोमबार सकिएको थियो। तर सरकारले सैनिक नियमावलीअनुसार अर्को तीन वर्ष म्याद थपिन सक्ने व्यवस्थालाई टेकेर तीन वर्ष जागिर थमौती गरेको थियो।  

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार अमेरिका जानुअघि नै रक्षा मन्त्रालयलाई पत्राचार गरेका थिए। 

अधिकारीलाई तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७६ असोज १ मा बसेको मन्त्रिपरिषद बैठकले सहायक रथीमा बढुवा गरेको थियो।

विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथी बनाइएको थियो। विशेष पद भएकाले स्वतः खारेज हुनुपर्नेमा प्रधानमन्त्रीले म्याद थप गरेका थिए।

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी भएका थिए। त्यसको केही समयमै उनी महासेनानी बनेका थिए। शान्ति प्रक्रिया नसकिएकाले सकारात्मक सन्देश दिन उनलाई बढुवा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .