झण्डै ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठामाडौंमा बयान दिइरहेका तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङ १३ वर्ष पहिलेदेखि नै नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ।
उनले २०६७ सालमा नेपालमा गैँडाको खाग तस्करी गरेको तथ्य भेटिएको हो। राजस्व अनुसन्धान विभागले साउन २ गते बिमानस्थल बाहिरबाट बरामद गरेको झण्डै ६१ किलो सुन प्रकरणमा थुप्तेनको भूमिका नेपालमा सेटिङ मिलाउने देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनमा उल्लेख छ।
विमानस्थल भन्सारका कर्मचारीसम्म सेटिङ मिलाउने थुप्तेन नै भएको अदालतमा दर्ता अभियोग पत्रमा उल्लेख छ। यो प्रकरणमा तीब्बतीयन मुलका थुप्तेनसहित ८ चिनियाँ र २० नेपालीलाई प्रतिवादी बनाइएको छ।
अहिले जिल्ला अदालत काठमाडौंमा उनीहरूको बयान गराउने कार्य भइरहेको छ। यसपछि थुनछेक बहस सुरु हुनेछ। त्यसपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा थुनाबाहिर राखेर मुद्दाको फैसला गर्ने भन्ने आदेश आउनेछ।
सुन तस्करीमा थुप्तेनको भूमिका
थुप्तेनले सुन प्रकरणमा पक्राउ परेपछि आफूलाई चिनियाँ नागरिक लि वेन सुङले एक वर्ष पहिले नेपाली नागरिकको नाममा कम्पनी खोल्न र व्यापार गरेर राम्रो कमाइ हुने भन्दै कम्पनी दर्ता गर्नका लागि नेपाली खोज भनेपछि नेपाली नागरिक खोजेको बयान दिएका छन्।
थुप्तेनले भन्सार एजेन्ट हर्कराज राईलाई यही कुरा भनेर कम्पनी दर्ताका लागि नेपाली नागरिक खोज्न भनेका थिए। हर्कराज राईलाई २ लाख ५० हजार रुपैयाँ दिएर थुप्तेन र लि वेनले कम्पनी दर्ता गर्ने मान्छेलाई दुई लाख रुपैयाँ दिन भनेको थुप्तेनले बयानका क्रममा बताएका छन्।
छुङ्गाक इलेक्ट्रिक सप्लायर्स कम्पनी दर्ता गराएर बैंक खाता खोल्न लगाएर त्यहाँ तीन लाख रुपैयाँ पनि उनीहरूले जम्मा गर्न भने।
त्यसपछि उनीहरुले इलेक्ट्रोनिक वस्तुहरु आयात गर्न थालेका थिए। थुप्तेनको भूमिका चिनियाँ नागरिकहरूलाई चाहिने सटर कोठा, घर, गाडी लगायतका व्यवस्थापकीय कार्य गर्न लि वेन सुङले भने।
हर्कराज राईको नाममा नै सम्झौता गराई उनले सटर, घर गाडी खोजेका थिए।
नेपालमा गर्नुपर्ने सम्पूर्ण कार्यका लागि चिनियाँले थुप्नेतलाई नै सम्पर्क गर्थे थुप्तेनले नेपालीलाई परिचालन गर्थे। पक्राउ परिसकेपछि नेपालमा तस्करीका लागि दर्ता भएका कम्पनीहरुको बारेमा पनि थुप्तेनले नै खुलाइदिएका थिए।
उनले नेपालमा चिनियाँ नागरिकलाई अवैध रुपमा घर÷होटलहरूको व्यवस्था गरेको, संगठित रुपमा अवैध सुन पैठारी गर्नका लागि कम्पनीहअरु खडा गरेको अभियोग छ।
पैठारीको सुन बेचबिखनका लागि याओ पुचेङको निर्देशनमा हर्कराज राईलाई परिचालन गरी तीन वटा सवारीसाधानहरु भाडामा लिन लगाएको, सुन गाल्ने मेसिन ल्याउँदा उक्त मेसिन लिन हर्कराज राईलाई पठाएको र गोदामसम्म व्यवस्थापन गर्न पनि उनले नै परिचालन गरेको अभियोग छ।
यस्तै भन्सारबाट सुन छुटाउनका लागि र विमानस्थलबाट भन्सारसम्म लैजानका लागि पनि थुप्तेनले परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। यस्तै उनले कीर्ते गरेर नेपाली नागरिकता बनाएको तथा सोही आधारमा राहदानी समेत बनाएको पाइएको छ।
खाग तस्करीमा सर्वोच्चले घटाइदिएको थियो कैद
२०६७ पुस १९ गते दिउँसो करिब १२ बजे बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले २ जना तिब्बतीयन नागरिकहरुलाई पक्राउ गरेको थियो।
उनीहरुको झोलामा राखिएको अवस्थामा ९ सय ग्रामको एक थान र ६ सय ग्रामको एक थान गरी दुई थान गैंडाको खाग, नेपाली रुपैयाँ २० लाख र डिजिटल तराजु बरामद गरेको थियो।
त्यतिबेला पक्राउ परेपछि थुप्तेनले आफू सन् १९९२ देखि भारतमा बसोबास गर्दै आएको बताएका थिए। समय समयमा नेपाल आउने थुप्तिन नेपालगन्जको रानीतलाउस्थित न्यु नेपाल जडिबुटि सप्लायर्स नामको फर्ममा काम गर्थे। नेपालगन्जको न्यु रोडमा उनको डेरा पनि थियो।
उनीहरु नेपालगञ्जबाट भारतमा जडिबुटी पठाउने काम गर्थे। खागको कसुरमा पक्राउ पर्दा उनले साथीले फसायको बयान दिएका थिए।
तर अदालतले थुप्तेनसहित तीन जनाको संलग्नता देखिएको ठहर गर्दै जिल्ला अदालतले थुप्तेन छिरिङलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट २०६९ भदौ २१ गते भएको फैसला मिलेको देखिएको भन्दै तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जले पनि २०७० वैशाख ३० गते सदर गरेको थियो।
तर सर्वोच्च अदालतले उनीहरुको गैंडाको खाग तस्करीमा संलग्नता देखिएपनि गैंडा मार्ने कार्यमा संलग्नता पुष्टि हुन नसकेको भन्दै आधा कैद घटाउने फैसला गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले थुप्तिन छिरिङ र उनीसँगै पक्राउ परेका टासी नाम्डेललानई ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेका थिए।
सर्वोच्च अदालतबाट फैसला हुँदा उनीहरुले कैद भुक्तान गरिसकेको देखिँदा उनीहरुलाई रिहा गर्न पनि आदेश दिएको थियो। तर सर्वोच्चको उक्त फैसलासँगै छुटेका थुप्तेन पुनः आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको हो।
Shares
प्रतिक्रिया