ad ad

समाज


पेम्बा र चस्मानले ल्याएको ११ किलो सुन लिन दोलखा पुगेका थिए नुर्वुका दम्पती

दोलखामा बरामद भएको सुन पनि चिनियाँ गिरोहकै
पेम्बा र चस्मानले ल्याएको ११ किलो सुन लिन दोलखा पुगेका थिए नुर्वुका दम्पती

नेपालखबर
असोज १६, २०८० मंगलबार २१:५६, काठमाडौँ

दोलखामा बरामद भएको ११ किलो सुन पनि चिनियाँ गिरोहको नै भएको खुलेको छ। पक्राउ परेका नेपालीहरू भने भरियामात्रै भएको प्रारम्भिक अनुसन्धानमा देखिएको दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काले बताए।

काठमाडौंबाट पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका छन्।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

मंगलबार एक चिनियाँ नागरिकसहित तीन जनालाई काठमाडौंमा पक्राउ गरेर दोलखा लगिएको छ। डीएसपी खड्काका अनुसार चीनियाँ तस्करले सीमानासम्म ल्याएको सुन नेपालीले त्यहाँबाट काठमाडौं ल्याएर चिनियाँ गिरोहलाई नै बुझाउने तयारी रहेको थियो।

दोलखामा ४ केजी भेटिएकै ठाउँमा थप सुन भेटियो

त्यसका लागि विभिन्न भूमिकामा नेपालीहरूनै परिचालित थिए। चीनको सीमानाबाट पेम्बा तामाङ र चस्मान तामाङले ल्याएका थिए।

असोज १० गते बेलुका साढे ७ बजेतिर दोलखा प्रहरीले विशेष सूचनाका आधारमा बिगु गाउँपालिका ३ जामुनेस्थित सीता तामाङको घरमा डेरा बस्ने २८ वर्षीय केशर तामाङको डेराबाट ४ किलो सुन बरामद गरेको थियो। 

दोलखाको लामाबगरमा ढुंगाले थिचेर राखिएको अवस्थामा भेटियो ४ किलो सुन

जुन सुन पेम्बा र चस्मानले ल्याएका थिए। सुन लिनका लागि काठमाडौंबाट नुर्वु छिरिङ शेर्पा र उनकी श्रीमती ३० वर्षीया सुनमाला तामाङ दोलखा पुगेका थिए। उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने नुर्वू र सुनमालाले काठमाडौंमा ल्याएर चिनियाँलाई बुझाउने बताएका थिए। 

काठमाडौंमा चिनियाँलाई बुझाइसकेपछि सुन व्यवस्थापन गर्ने पक्राउ परेका आरोपीहरूले प्रहरीलाई बताएका छन्। उनीहरूले आफूहरू चीनको सीमानामा पुगेर ल्याएको र त्यो सुन काठमाडौं पुर्‍याएर चिनियाँलाई बुझाउने जिम्मा मात्रै रहेको बयानका क्रममा बताएका छन्। 

सुरुमा सुन बरामद भएको केशरको घर बिगु गाउँपालिका नै हो। चीनको सीमानाबाट सुन ल्याउने, दोलखासम्म सुन लिन जाने र त्यहाँ सुन लुकाउने भूमिकामा रहेका सबैलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

यसमा संलग्न २० वर्षीय माधव मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। माधवले सुन राखिएको स्थानमा कोही आउँछकी भनेर जासुसी गर्ने गरेका थिए। 

बिगु गाउँपालिका १ का १७ वर्षीय नाबालक पनि सुन तस्करीमा संलग्न देखिएका छन्। उनलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

निजहरूले नै लुकाई छिपाई राखेको अबस्थामा असोज १२ गते ३ किलो सुन बरामद गरेको थियो। उक्त सुन पनि केशर तामाङको डेराबाटै बरामद भएको थियो। 

असोज १४ गते लामाबगर स्थित आङफुर्वा शेर्पाको बारीमा ढुङ्गा मुनी लुकाई छिपाई राखेको अवस्थामा थप चार किलो सुन बरामद गरेको थियो। 

तीन चरणमा बरामद भएको ११ किलो सुन परिक्षणको लागी काठमाण्डौ सुन चाँदी व्यवसाय संघ, क्षेत्रपाटी काठमाण्डौमा पठाइएको थियो। संघले सुन भएको पुष्टि गरेको थियो। जसको मुल्य हाल १० करोड १९ लाख ५७ हजार ७८० रुपैयाँ पर्छ।

अहिले जिल्ला अदालत काठमाडौंमा झण्डै ६१ किलो सुनको मुद्दा चलिरहेको छ। २९ जनालाई प्रतिवादी बनाइएको यो मुद्दामा थुनछेक बहस भइरहँदा दोलखामा ११ किलो सुन बरामद भएको हो।

उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ९ किलो सुन प्रकरणको अनुसन्धान गरिरहेको छ। जुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु छोरा नै जोडिएका छन्। तर प्रहरीले उपाध्यक्ष कृष्णबहादुर महरालाई भने प्रतिवादी बनाएको छैन। 

उनका छोरा राहुल महरा पक्राउ परेका छन्। कृष्णबहादुरलाई भने सीआईबीले कागज मात्रै गराएको छ।

यसअघि यो प्रकरणमा उनीहरुको संलग्नता देखिए पनि कागज समेत गराइएको थिएन। तर पछि विरोध भएपछि सीआईबीले पक्राउ गरेर अनुसन्धान गर्न बाध्य भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .