ad ad

समाज


साढे चार करोड रकम हिनामिना गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

साढे चार करोड रकम हिनामिना गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

नेपालखबर
असोज १८, २०८० बिहिबार १५:१३, काठमाडौँ

ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन्।

काभ्रेपलान्चोकको साविक कात्तिके देउराली गाविस– ८ हाल परिवर्तित चौरी देउराली गाउँपालिका ६ का स्थायी वासिन्दा ३९ वर्षे चौलागाईंलाई सहकारीको झण्डै साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सो सहकारी सञ्चालक समितिका  सदस्यहरूले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई रकम जम्मा गर्न लगाएका थिए।

निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक /त्रैमासिक/ वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै उजुरी परेको थियो।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको बचतकर्ताको आरोप छ।

हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ  बचत रकम अपचलन तथा हिनामिना गर्ने कार्यमा संलग्न उल्लेखित सहकारी संस्थाका अध्यक्षलाई यही असोज १६ गते पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ।

साथै, उल्लेखित सहकारीबाट पीडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ।

देउराली सहकारीका अध्यक्षसहित सञ्चालकहरू बेपत्ता, पक्राउ गर्न सीआईबीलाई पत्र
                                                            

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .