ad ad

बागमती


कुलेखानीको ढोका खोल्दा गएको पहिरोले लियो छोराको ज्यान, बाबुले लेखे– अनुपम, मैलै तिमीलाई बचाउन सकिनँ!

कुलेखानीको ढोका खोल्दा गएको पहिरोले लियो छोराको ज्यान, बाबुले लेखे– अनुपम, मैलै तिमीलाई बचाउन सकिनँ!

आमा–बुवाका साथमा छोरा अनुपम घलान, जसले शनिबार पहिरोमा ज्यान गुमाए।


सुनिता विष्ट
असोज १३, २०८१ आइतबार ९:१५, हेटौँडा

शनिबार बिहान कुलेखानी जलविद्युत् केन्द्रको जलाशायबाट छाडिएको पानीले आएको पहिरोमा परेर ज्यान गुमाउने ६ बालकमध्ये एक हुन्- अनुपम घलान।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ का अनुपम ५ महिनाअघि मात्रै फुटबल सिक्न इन्द्रसरोवरको सिस्नेरीस्थित बत्सलादेवी माविमा गएका थिए। तर भर्खर १३ वर्षमा टेकेका उनी प्राकृतिक विपद्‌को सिकार बने।

विद्यालयको होस्टलमा सँगै बसेका ५ साथीसँगै शनिबार पहिरोमा परेर अनुपम पनि संसारबाट बिदा भए।

सानैदेखि फुटबल खेल्ने रुचि भएका अनुपमलाई खेलाडी बनाउने सपना बोकेका उनका बाबु लतिलकुमार घलानले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामासँगको सहकार्यमा सिस्नेरीस्थित एन्फा एकेडेमीमा भर्ना गराइदिएका थिए।

यसअघि हेटौँडा-४ मा रहेको श्री आधुनिक माध्यमिक विद्यालयमा पढ्ने अनुपमलाई गत वैशाखको अन्तिमतिर सिस्नेरी पठाइएको पारिवारिक स्रोत बताउँछ।

अनुपम, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्षसमेत रहेका ललितका एक मात्र सन्तान थिए।

मकवानपुरमै एन्फा एकेडेमी खुलेपछि छोरालाई राष्ट्रको गहना बनाउने लक्ष्य लिएका घलानको सपना पूरा हुनै पाएन। पहिरोमा हराएका छोराको शव शनिबार साँझ फेला परेपछि घलानले फेसबुकमा छोराको तस्बिर राख्दै लेखेका छन्, ‘छोरा अनुपम! मैलै तिमीलाई बचाउन सकिनँ।’

छोराले शुक्रबार आत्तिँदै फोन गरेको घलान बताउँछन्।

‘शुक्रबार राति ९ बजेतिर कुरा भएको थियो’, उनले नेपालखबरसँग भने, ‘यता त डरै लाग्दो भैरहेको छ बाबा। गाडीमा स्पिकर राखेर माइकिङ गर्दै हिँडेको छ। वार्डेन सरहरूले भोलि अन्त जाउँला, केही हुँदैन भन्नुभएको छ। भोलिचाहिँ हामी यहाँबाट अन्तै जाने रे बाबा भन्थ्यो। बिहानै बाढीपहिरोमा परेछ।’

अनुपमले अब दसैँ आउनै लागेको र घर आउने दिन पनि आउन लाग्यो है बाबा भनेको घलान सुनाउँछन्। 

‘बाबुले १५ गते लिन आउनु है भनेको थियो’, उनले थपे, ‘१६ गते स्कुलमा दसैँ कार्यक्रम छ। हामी नबस्ने १५ गते नै लिन आउनू। अनि तिहारसम्म हेटौँडा नै बस्ने हो भनेको थियो।’

अनुपमलगायत उक्त विद्यालयमा बस्ने सबै विद्यार्थीले घटनाको अघिल्लो दिन शुक्रबार नै घर जाने भनेका थिए।

तर एकेडेमीका संरक्षकले बाँध खोल्ने सूचना हामीलाई आउँछ, अनि मात्रै जाउँला भनेर राखेको एकेडेमीका केही विद्यार्थीले बताएका छन्।

मकवानपुरको इन्द्रसरोवर-२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार बिहानै बाँधका दुवै ढोका खोलिएका थिए। बाँध फुटेर झन् ठूलो जोखिम निम्तिने कुरालाई विचार गरी बाँधका ढोका खोलिएका थिए।

त्यही बाँधबाट गएको पानीका कारण खसेको पहिरोले अनुपमसहित ६ जना भविष्यका खेलाडीलाई बगायो।

इन्द्रसरोवर गाउँपालिका-३ स्थित श्री बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीमा प्रशिक्षणमा रहेका ६ बालकका शव दिभरको खाजीपछि साँझपख मात्र भेटिएका थिए। 

मृत्यु हुनेमा मकवानपुरका अनुपमसहित तीनजना र बाँकी ३ बालक अन्य जिल्लाका थिए।

अनुपमसँगै सिस्नेरीकै दिवस बानियाँ र साइमन योञ्जन सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र निजगढका विकल रेग्मीले कलिलो उमेरमै ज्यान गुमाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .