यस वर्षको मनसुन आज (असोज २८ गते) देखि देशभरबाट बाहिरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सरदर मिति (अक्टोबार २) भन्दा १३ दिन ढिलागरी मनसुन आज (अक्टोबर १५) पूरै नेपालबाट बाहिरिएको हो।
जेठ ३१ गते भित्रिएको मनसुन नेपालमा १२४ दिनसम्म रह्यो।
हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन-
नेपालबाट मनसुन बाहिरिएसँगै औपचारिक रूपमा वर्षायाम अन्त्य भएको छ।
पूर्वबाट प्रवेश गरेर क्रमशः पश्चिमसम्म फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाटै बिदा भएको हो।
यही अक्टोबर ६ तारिखका दिन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिन सुरु गरेको मनसुन क्रमश: बाहिरिँदै आज दसौँ दिनमा पूर्ण रूपमा बाहिरिएको हो।
यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।
डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।
मौसमविद्का अनुसार पूर्वबाट भित्रिने वायु (मनसुन) लाई पूर्वी वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ। पूर्वी वायु बाहिरिएसँगै नेपालमा अब पश्चिमी वायु सक्रिय हुन थाल्छ।
पश्चिमी वायुले वर्षाका साथै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात गराउँछ।
यसैबीच पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि सोमबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपात हुने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया