नेपालका आदिवासी थारु समुदायहरुले बाँसका संस्कृति सिकेको सहर हो युन्नान। नेपालको पूर्वदेखि पश्चिम तराईसम्म बस्दै आएको थारु र पूर्वी पहाडमा बसोबास गर्ने किरात राईहरुसँग मिल्दोजुल्दो संस्कृति अंगालेका आदिवासीहरु चीनको युन्नान प्रान्तमा भेटिन्छन्।
कयौँ शताब्दी पुरानो प्राग इतिहासको यात्राका क्रममा थारु आदिवासीहरुले संसारका धेरै ठाउँमा जीवनयापनका विविध आयाम सिकेका थिए।
जीवनयापनका अनेक आयाम सिकेका उनीहरुले चीनको युन्नानमा बाँसको संस्कृति सिकेका थिए। उनीहरु अहिले पनि नेपालमा आफूलाई वनजंगल, प्रकृति र खोलानालासँग निकट रहेर बाँच्न चाहन्छन्।
नेपालको तराई भेगका थारु र पहाडी क्षेत्रका किरात राईहरू आफूलाई भूमिपुत्रका रूपमा चिनाउँछन्। उनीहरू दुवै समुदाय भूमि, जल र सूर्यसहितका प्रकृतिको पूजा गर्छन्।
भूमिपुजक भएकैले आफूलाई भूमिपुत्रका रुपमा चिनाउने उनीहरूको संस्कृति विस्तारै आयातितले विस्थापित गर्दैछ। थारु र किरात राई दुवै समुदायमा धर्म परिवर्तन र आधुनिकताका नाममा परम्परागत संस्कार परम्परा संकटमा पर्दै गएको छ।
तर पनि आफ्ना हरेक पर्व र चाडका बेला यी आदिवासी जनजातिहरुले आफ्नो संस्कृति संरक्षणको पहल गरिरहेका हुन्छन्।
नेपालमा अहिले पनि करिब ३५ प्रतिशत आदिवासी जनजातिको बसोबास रहेको अनुमान छ। जुन हिमालदेखि तराईका सम्म भूभागसम्म बसोबास गरेका भेटिन्छन्।
भौगोलिक रुपमा सिमाना जोडिएको उत्तरी छिमेकी मुलुक चीनमा पनि नेपालका जस्तै कयौँ आदिवासी जनजाति समुदाय बसोबास गर्छन्। त्यसमध्ये आदिवासी जनजातिको बसोबास भएको प्रान्त हो युन्नान।
जहाँको राजधानी सहर खुनमिङमै चीन सरकारले ८९ हेक्टर क्षेत्रफलमा फैलिएको पुरानो बस्तीलाई आदिवासी जनजातिको संस्कृति संरक्षणका लागि जोगाएर राखेको छ।
चीन सरकारले यसलाई 'युनान एथनिक गाउँ' को नाममा चिनाएको छ। जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि एक आकर्षक गन्तव्य बनेको हो।
यो पुरानी पर्यटकीय बस्तीमा छिर्नेबित्तिकै सबै घरहरू मौलिक स्वरुपमा पाइन्छन्। सयौँ वर्ष पुराना घरहरू कुनै टायल, झिँगटीले छाएका भेटिन्छन् भने कुनै खर जस्तै स्थानीय वनस्पतिले छाएर संरक्षण गरिएको छ।
अल्पसंख्यक आदिवासी जनजातिका लागि संरक्षित यो गाउँमा चीनका विभिन्न २६ वटा जातजातिका स्थानीय लोकगीत, संस्कृति, नृत्य र वास्तुकला देख्न पाइन्छ।
आधुनिकताको दौडमा तीव्र गतिमा अघि बढिरहेको युन्नाले त्यहाँको मौलिक जातीय संस्कृति, भेषभुषा र सम्पदा जोगाउन उक्त गाउँलाई मौलिक स्वरुपमै जोगाएर राखेको हो।
युन्नानको राजधानी सहर खुनमिङबाट दक्षिणपश्चिममा डियान्ची तालनजिकै रहेको 'युन्नान एथनिक गाउँ' भित्रै अल्पसंख्यक आदिवासीले प्रयोग गर्ने गरी कयौँ ताल र पोखरी पनि बनाइएको छ। यो गाउँको ३१ हेक्टर क्षेत्र ताल र पोखरीले ओगटेको छ।
सहरबाट केही बाहिर बनाइएको यो गाउँमा बौद्ध धर्मावलम्बीलाई पनि भेट्न सकिन्छ। त्यसो त चीन कम्युनिष्ट शासकले हाँकेका छन्। तर विभिन्न धर्मावलम्बीको पहिचानलाई पनि जोगाउने काम गरिएको छ।
चीनले 'ए' वर्गको पर्यटकीयस्थलका रुपमा वर्गीकरण गरेको त्यही गाउँमा नेपालकै शैलीमा विशाल गुम्बा बनाइएको छ। जहाँ कयौँ लामा गुरुहरुले भगवान गौतम बुद्धको पूजा गरिरहेका हुन्छन्।
अल्पसंख्यक
सांस्कृतिक केन्द्रका रुपमा विकास गरिएको यस गाउँलाई दाइ, पिनियाँ, दैजु, बैजु, यिजु, नछिजु, वाजु, बुलन्जु, जिनुजु, लहु, जेङ्ग्जु, जेङ्ग्पजु, हैन्जु, दि याङ्ग, जु याङ्ग, मैयोजु, सुइजु, नु, मङ्गोल, बुई, दुलोङ्ग, लिसु, पुमी, मन्छु, हुई, यिऊ र अचाङ्ग जातिका संस्कृति झल्किने गरी सजाइएको छ।
यहाँका अल्पसंख्यकहरू र नेपालका आदिवासीहरूबीचको समानता भनेको उनीहरु प्रकृति पुजक हुन्। यस गाउँका अल्पसंख्यकहरू पनि नेपालका थारु र किरात राईहरूले जस्तै थान बनाएर भूमि पूजा गर्छन्।
नाचगान पनि नेपालका आदिवासी जनजातिहरूसँग मिल्दोजुल्दो छ। नेपालमा किरात राईहरु उँधौली र उँभौलीका अवसरमा ढोल झ्याम्टा बजाउँदै मौलिक भाकामा नाच्छन् गाउँछन्।
युन्नाको यस गाउँ पनि दाई अल्पसंख्यक समुदायले पानी-छिटो महोत्सव हरेक वर्षको अप्रिल १३ देखि १६ सम्म मनउँछन्। यहाँका अल्पसंख्यकहरूले मसाल महोत्सव जुन २४ मा धुममाधसँग मनाउँछन्।
यस गाएँको जिनुओ अल्पसंख्यकहरूले धान महोत्सवका अवसरमा जुलाई अन्तिमदेखि अगस्टको नाचगान गरेर मनाउँछन्।
यहाँका आदिवासीहरु यिजु जातिले शिकार महोत्सव पनि मनाँछन्। लाइसेन फेस्टिबलका रुपमा उनीहरुले चिनियाँ चन्द्र पात्रो अनुसार फेब्रुअरी १ देखि ३ सम्म मनाउने चलन छ।
उता बुई जातिले सान्युजी पर्व मार्च १५ मा मनाउँछन्। यिऊ जातिले मिझी पर्व नोभेम्बरमा मनाउँछन्। उक्त पर्वमा उनीहरुले महिला सहभागी गराउँदैनन्।
यो सांस्कृतिक गाउँलाई चीन सरकारले हरेक बिहान साढे ८ बजे खोलेर साँझ ८ बजे बन्द गर्छ। यो गाउँमा बिहान ९ बजेदेखि ५ बजे आदिवासी जनजातिहरुले विभिन्न नृत्य प्रदर्शन गर्छन्। उनीहरुले देउतालाई पुज्ने स्थाननजिकै बनाइएको विशेष स्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो मौलिक नृत्य देखाउँछन्।
उनीहरूको नाचगानमा नेपालका आदिवासी जनजातिहरूसँग समानता देखिन्छ। विशेषत: थान बनाएर पूजा गर्दै नाच्ने जातिको संस्कृति नेपालका किरात राईहरूसँग मिल्न गएको देखिन्छ।
अर्कातिर यो संरक्षित पार्क (गाउँ) मा होमस्टे पनि छन्। जसले नेपालका थारु, राई र मगरसहितका जनजातिले चलाउँदै आएको पाहुना घरको पनि झल्को दिने गरेको छ।
भूमि अर्थात् प्रकृति पूजाका लागि उनीहरुले बनाएको विशेष थानमा भैंसी र राँगाका ठूला ठूला सिंङलाई विशेष रंगले सजाएर राखिएको हुन्छ। यहाँका अल्पसंख्यकमध्ये केहीको संस्कृति म्यानमारसँग मिल्दोजुल्दो छ। स्थानीयबासीका अनुसार चीन विस्तारका क्रममा रोकिएका आदिवासी जनजातिहरूलाई यहीँ संरक्षण दिइएको हो।
यसरी चीनको संरक्षण पाएका उनीहरू भूमिपूजास्थलमा ठूला ठूला भैंसी र राँगाका सिङ राखेर पूजा गर्छन्। उक्त पूजाका क्रममा उनीहरू भुइँलाई ढोग्छन् अनि प्रकृति पुकार्छन्।
यहाँको सांस्कृतिक पार्कमा स्थानीय अल्पसंख्यक आदिवासीहरूले मदिरा पनि उत्पादन गर्छन्। फलफूल र स्थानीय उत्पादनबाट बनेको उक्त मदिरा पर्यटकको स्वागतमा दिइन्छ।
२५० मिलिलिटरको ३० आरएमबी पर्ने उक्त मदिराको चीन सरकारले नै संरक्षण गरेको छ। यी आदिवासीहरूले स्वदेशी तथा विदेशी पाहुनालाई स्वागतका क्रममा नृत्य र गीतसँगै उक्त मदिरा पनि दिन्छन्।
उक्त मदिरा इच्छा लाग्नेले किनेर पनि लैजान पाउँछन्। सरकारद्वारा संरक्षित भएकाले स्थानीय आदिवासीहरूले उक्त पार्कमै मदिरा बनाउँछन्।
त्यसक्रममा उनीहरू भैंसीको सिङमा पूजा गर्छन्। यसका साथै उक्त विशेष थान वरपर गाडिएका अग्ला ढुंगामा पनि पूजा गरिन्छन। त्यस पूजाका क्रममा उनीहरु भगवानले आफूहरूलाई प्रशस्त आम्दानी गराइदिने विश्वास गर्छन्।
पूजा सकिसकेपछि स्थानीय विशेष प्रकारको काठको बाजा, ढोल र झ्याम्टासहित स्थानीय मौलिक नृत्य गर्छन्। नेपालका किरात राईहरुले साकेला-साकेवाको समयमा गर्ने नृत्य जस्तै एकजनाले भट्याउँदै अरुले सार मिलाएर नृत्य गर्छन्।
यी अल्पसंख्यकहरूका छोरीहरू पनि आफ्नो मौलिक संस्कृति देखाउन अब्बल मानिन्छन्। स्थानीय मौलिक बाजा र गीतमा उनीहरूले आफ्नो परम्परागत नृत्य पस्किन्छन्। त्यसक्रममा उनीहरूले परम्परादेखि प्रयोग हुँदै आएका पोशाक लगाउँछन्। किरात राईहरुले गर्ने नृत्यमा जस्तै यी आदिवासी जनजातिले पनि आफ्नो मौलिक संस्कृति अरुलाई देखाउँछन्।
चीन सरकारले खुनमिङ सहरबाट ७ किलोमिटरको दूरीमा रहेको डियान्ची तालनजिकै बनाएको यो बस्तीभित्र युनान एथनिक गाउँ, वेस्ट हिल फरेस्ट पार्क, डगुआन पार्क र झेन्हे पार्क छन्। झेन्हे पार्क डियान्ची ताल पारीतर्फ रहेको छ।
यो गाउँमा पुग्ने पर्यटकका लागि स्थानीय मौलिक खाना पस्किने गरिएको छ। पर्यटकहरुले स्थानीय खाना खान पाउँछन् भने चीनका मौलिक हातेसामाग्री पनि किनेर लैजान्छन्।
यो आदिवासी पार्क गाउँभित्र मिङ राजवंशका पालामा निर्मित स्वर्ण मन्दिर पनि छ। जुन १६७१ ईशापूर्वको १० औँ वर्षमा ऊ साङ्गुईले तामा र जस्ताबाट बनाएका थिए। त्यहीकारण यसको नाम पनि स्वर्ण मन्दिर राखिएको हो। २५० टनको ६.७ मिटर अग्लो यसलाई चीनको सबैभन्दा ठूलो तामाको मन्दिर पनि भनिन्छ।
यो आदिवासी जनजातिहरूका लागि संरक्षित गाउँमा दैनिक २० देखि ३० हजार पर्यटक आउने गर्छन्।
Shares
प्रतिक्रिया