ad ad

समाज


बलात्कारपछि हत्या प्रकरण : हराएकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए आरोपित

बलात्कारपछि हत्या प्रकरण : हराएकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए आरोपित

नेपालखबर
कात्तिक ५, २०८० आइतबार ९:४६, काठमाडौँ

भोजपुरको आमचोकमा सात वर्षीया एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ।

आमचोक गाउँपालिका–६ टेङलुङछुक निवासी दीब बहादुर राईकी सात वर्षीया छोरी आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरेको छ। 

दुई दिनअघि देखि हराइरहेकी बालिकाको शव स्थानीय जंगलको गुफाको पानीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको थियो। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीप कुमार पाठकले नेपालखबरलाई दिएको जानकारी अनुसार बालिका गएको बिहीबार साँझ ६ बजेदेखि हराएकी थिइन्। प्रहरी र स्थानीयले खोजी गर्ने क्रमममा शनिबार बिहान नौ बजे बालिकाको शव फेला परेको हो। 

शरीरको तल्लो भागमा कपडा नभएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। ‘पक्राउ परेको व्यक्तिले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकारेको छ,’ पाठकले नेपालखबरसँग भने, ‘घटनाको विषयमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’

अभिभावकले खबर गरेपछि शुक्रबार बिहानबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको २५ जनाको प्रहरी टोलीले बालिकाको खोजी सुरु गरेको थियो।  

प्रहरी अनुसन्धानका क्रममा बालिका हराउनुअघि दिपचन्द्रसँग बालिकाको भेट भएको खुलेपछि प्रहरी अनुसन्धान दिपचन्द्रप्रति सोझिएको थियो। 

‘बालिका हराएपछि उ पनि बालिकाका अभिभावक र प्रहरीसँगै बालिकाको खोजीमा लागेको रहेछ, रातभर उ पनि बालिकालाई खोज्दै अभिभावकसँगै हिँडेछ,’ डीएसपी पाठकले भने, ‘तर अभिभावकले बालिका हराउनुअघि दीपचन्द्रसँग मोवाइलमा फ्रि फायर खेलेको जानकारी हामीलाई दिए। त्यसपछि हाम्रो अनुसन्धान उप्रति केन्द्रीत भयो।’

बालिकाका अभिभावकले पनि राईमाथि कुनै शंका नगरेको अवस्थामा प्रहरीले बालिका हराएको भोलिपल्ट बिहान राईसँग बालिकाको विषयमा सोधपुछ गरेको थियो। 

‘उमाथि शंका लागेपछि हामीले शुक्रबार बिहान ११ बजे उसलाई नियन्त्रणमा लिएका थियौँ। उसलाई नियन्त्रणमा लिँदा पनि बालिकाका अभिभावक उसलाई छाड्दिनुस्, यो त्यस्तो मान्छे होइन भन्दै थिए। प्रहरी कष्टडीमै उसले शुक्रबार राति १ बजे बलात्कारपछि आफूले बालिकालाई मारेर फालेको बयान दियो।’

पक्राउ परेका राईको कपडा खोलेर हेर्दा ढाडमा चिथोरेको जस्तो घाउ भेटिएपछि प्रहरीले उनीमाथि शंका गरेर थप केरकार गरेको थियो। उसले बालिकालाई बोकेर जंगलतिर जाँने क्रममा लड्द जिउमा घाउ भएको बयान दिएको छ। 

पक्राउ परेका राई विवाति हुन्। उनकी पत्नी दुई साताकी सुत्केरी भएको प्रहरीले जनाएको छ। 

बालिकाको शव पोष्टमर्टमका लागि प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। भोजपुरमै पोष्टमार्टम सुविधा भएपछि घटनाको प्रकृति हेर्दा गहिरो अनुसन्धान गर्नुपर्ने देखिएकाले शव धरान पठाइएको डीएसपी पाठकले बताए। 

आरोपी राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखेर थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .