ad ad

समाज


लिम्बू समुदायमा दसैँ मान्ने परम्परा लोप हुँदै

लिम्बू समुदायमा दसैँ मान्ने परम्परा लोप हुँदै

नेपालखबर
कात्तिक ८, २०८० बुधबार ६:२७, फुङ्लिङ

विगतका वर्षहरूमा लिम्बू समुदायमा दसैँमा मार हान्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो।

नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैं मान्ने परम्परा रहिआएको थियो। तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैं परम्परा हराउँदै गएको छ।

विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दसैँ मान्ने संस्कृति पनि लोपहुँदै गएको हो। आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ। लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैंपर्व मनाउने गरेको पाइन्छ।

हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक(फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन्। गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दसैँ पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन्। सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन्।

पहिले(पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन्।

हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ।

आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैंपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ। यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दसैँपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दसैँ सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन्।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताए।

राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउँछन्।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बु समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन्।

लिम्बुलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ। लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बुले बताए।

पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दसैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बुको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .