ad ad

समाज


वास्तु शास्त्र आधुनिक इन्जिनियरिङमा समावेश गरिने, यस्तो छ तयारी

वास्तु शास्त्र आधुनिक इन्जिनियरिङमा समावेश गरिने, यस्तो छ तयारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८० शनिबार ६:२१, काठमाडौँ

वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ। नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक  इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो। 

आधुनिक  इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो। यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ।
 
विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र खड्काले जानकारी दिए। यसका लागि विश्वविद्यालयले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ। यस वर्ष पनि यस कार्यक्रमलाई  चार करोड बजेट विनियोजन गरिएको छ।

विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँमा रहेको विश्विद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा यो विषय अध्यापन गराउने गरी तयारी भएको छ।
 
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा वास्तु शास्त्रसम्मत भवनको निर्माण गरी वास्तुसम्बन्धी अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना छ। वास्तुको अध्यापनका लागि भौतिक संरचना निर्माणलाई पनि विश्वविद्यालयले प्राथमिकता दिएको छ।
 

स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो। 

पप्छिल्लो समय वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवद्र्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए। पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन्। 

विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .