ad ad

समाज


दसैँ अवधिमा काठमाडौँ उपत्यकामा १०३ घटना, कहाँ के भयो?

दसैँ अवधिमा काठमाडौँ उपत्यकामा १०३ घटना, कहाँ के भयो?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८० शनिबार १०:२०, काठमाडौँ

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा यसपालिको दसैँमा तुलनात्मक रुपमा धेरै घटना नभएका प्रहरीले जनाएको छ। 

विगत वर्षको तुलनामा दसैँ अवधिमा यस वर्ष उपत्यमा वातावरण शान्तिपूर्ण रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना  नभएको कार्यालयको भनाई छ। 

फूलपातीयता गए रातिसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको उनले बताए। 

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर प्रहरीले तीनै जिल्लामा सुरक्षा निगरानी गरेको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, ‘सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन। सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो। यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो। अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ।’

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने भएका छन्। यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन्। ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। सवारी साधनहरु आपसमा ठक्कर खाएर उपत्यकामा ५१ वटा दुर्घटना भएका थिए। उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन्। चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट पाँच लाख नगद बरामद गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .