यतिबेला संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा छन्।
सोही बेला उनको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अभियोगमा एक नेपाली महिला कारागार चलान भएकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उल्लिखित आरोपमा गत महिना पक्राउ गरेकी कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोल स्थायी ठेगाना भएकी ३२ वर्षीया सुरुचि भुजेललाई जिल्ला अदालत काठमाडौँले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो।
भूकम्पले क्षतिग्रस्त टर्कीका भवन पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत त्यहाँ लाने प्रलोभन देखाएर ९० जनाबाट २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरिएको जाहेरी परेपछि सीआईबीले भुजेललाई पक्राउ गरेको थियो।
राष्ट्रसंघका महासचिव गुटेरेसकै हस्ताक्षर (किर्ते) मा टर्कीबाट रोजगारीको माग भएको भनी आफूहरूबाट भुजेललगायतले ठगी गरेको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन्।
सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत ७ वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।
सो ठगी मुद्दामा प्रहरीले सुरुचिका पति विनोद श्रेष्ठ र भाइ सुजन भुजेललाई पनि प्रतिवादी बनाएको छ। हाल उनीहरू फरार छन्।
सुरुचिलाई भने सीआईबीको टोलीले गत असोज ६ गते पोखराबाट पक्राउ गरेको थियो।
Shares
प्रतिक्रिया