ad ad

समाज


रिगललाई पुनः कारागार फर्काइने

रिगललाई पुनः कारागार फर्काइने

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:५५, काठमाडौँ

रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्ने सर्वोच्चको आदेशपछि उनलाई पुनः जेल फर्काइने भएको छ। 

रिगलले हत्या गरेका नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै भएको बहसपछि बिहीबार सर्वोच्चले राष्ट्रपतिको निर्णय बदर गर्न आदेश दिएको हो। 

उक्त आदेशसँगै अब उनलाई जेल फर्काइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुबेर कडायतले नेपालखबरलाई जानकारी दिए। 

‘सर्वोच्चको आदेशको पत्र हामीलाई प्राप्त भइसकेपछि उनलाई पुनः जेल फर्काउँछौं,’ उनले भने।

रिगललाई असोज ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएका थिए। सो निर्णयको विरुद्धमा भारती सर्वोच्च अदालत पुगेकी थिइन्। 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाइएको हो।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो। सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

जम्मा ८ वर्ष कैद बसेर राजनीतिक शक्तिको आडमा मुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी तत्कालीन पत्नी भारती शेर्पाले रिट दायर गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .