डोटीमा जिप दुर्घटना हुँदा बाजुराको एकै गाउँका ४ जनाको मृत्यु भएको छ।
आइतबार राति डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित सेती नदीमा बोलेरो जिप खस्दा एकै गाउँका चार जनाले ज्यान गुमाएका हुन्।
धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप केआई सिंह राजमार्गबाट ५०/६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बछ्याकी २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिने छोरी प्रार्थना मलाल छन्।
प्रहरीका अनुसार बोलेरो जिपमा १० जना सवार थिए। दुर्घटनामा परेर ५ जना घाइते भएका छन्।
उनीहरुको दीपायलमा उपचार भइरहेकोे छ। दुर्घटनाग्रस्त जिपबाट उद्धार गरेर उनीहरुलाई प्रहरीले राति नै उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल पठाएको हो।
उनीहरुको अवस्था मध्यम रहेको छ। जिप चालक बाजुराको गौमुल गाउँपालिका–४ काँडाकोटका २१ वर्षीय महेश बुढा सामान्य घाइते भएका छन्। उनको निधारमा सानो चोट लागेको प्रहरीले जनाएको छ।
जिप दुर्घटनापछि चालक बुढालाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
दुर्घटनामा एकै गाउँका ४ जनाले ज्यान गुमाएपछि चाडबाडको मुखमा गाउँ नै शोकमा डुबेको छ।
‘चाडबाडको मुखमा निकै दुःखद घटना भएको छ,’ हिमाली गाउँपालिका–५ का अध्यक्ष प्रदिप बुढथापाले भने, ‘बालबालिकासहित चार जनाको निधनले गाउँ शोकमग्न छ।’
दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाएकाहरुको पोष्टमार्टमका लागि शव दीपायल लगिएको छ।
जिपमा सवार यात्रु शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिएर घर फिर्ती भइरहेका थिए। निम्न माध्यमिक तहको अनुमति पत्रको शनिबार परीक्षा थियो।
कैलालीको धनगढीमा सो परीक्षामा उनीहरु सामेल भए। बोलेर जिप बुक गरेर फर्किरहेका उनीहरु घर पुग्न पाएनन्। कोही मृत्यु शैयामा पुगे भने कोही घाइते भएर अस्पतालको शैयामा।
लाइसेन्स उर्तिण गरेर शिक्षक सेवा आयोग भिड्ने सोचमा रहेकी राधिका मलाल र धनशोभा बुढाको शिक्षक बन्ने सपना अधुरै रह्यो।
‘जिपमा अधिकांश शिक्षक लाइसेन्सको परीक्षा दिएर घर फर्किरहेका रहेछन्,’ शिखर नगरपालिका–६ का अध्यक्ष धिर्कबहादुर सिंहले भने, ‘केही बच्चाहरुलाई रेखदेख गर्न आएका उनीहरुकै आफन्त हुन्, परीक्षा दिएर घर फर्किरहेका थिए।’
चालक निदाउँदा जिप सडकबाट सेती नदीमा खसेको दुर्घटनाका घाइतेले बताएका छन्। शिखर नगरपालिका–६ पर्ने स्थानीय बजार ल्वाखडीमा जिप रोकेर चालक बुढा आधा घण्टा निधाएका थिए।
ल्वाखडी बजारबाट करिब ३ किलोमिटरको दुरी पार परेपछि राति साढे २ बजे जिप सेती नदीमा खसेको हो।
‘यात्रुहरुले जाउ भनेपछि राति नै जिप चलाए, ल्वाखडी बजारबाट थोरै हिँडेपछि झ्याम्मै निन्ध्रा लाग्यो,’ चालकको बयान उदिृत गर्दै उद्धार खटिएका एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि जिप खोलामा खसेको हो।’
Shares
प्रतिक्रिया