ad ad

समाज


देशैभर मौसम बदली, पश्चिम र पूर्वमा ठूलो पानी पर्ने सम्भावना

देशैभर मौसम बदली, पश्चिम र पूर्वमा ठूलो पानी पर्ने सम्भावना

नेपालखबर
असार १५, २०७६ आइतबार १:४८,

आज (आइतबार) पनि मुलुकका विभिन्न स्थानमा वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गत माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यही असार ५ गते मनसुन भित्रिएयता देशका विभिन्न स्थानमा दैनिकजसो वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज पनि देशभर सामान्य बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

पश्चिम र पूर्वका एक/दुई स्थानमा भने आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

‘अहिले पश्चिमी क्षेत्रमा बदली भएको छ,’ उनले भनिन्, ‘त्यो प्रणाली बिस्तारै पूर्वतर्फ आउँदै छ।’

उनका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको हुनसक्छ। मध्य क्षेत्रका काठमाडौंलगायत स्थानमा भने दिउँसो पानी पर्ने सम्भावना रहेको उनले बताइन्।

यस्तै पूर्वमा भने केही ढिला अपराह्नतिर वर्षा हुने संकेत देखिएको मौसमविद् पोखरेलले जानकारी दिइन्।

‘आज पूर्व तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘मध्य क्षेत्रमा भने हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिएका छ।’

मनसुन देशभर सक्रिय रहे पनि खासै ठूलो र लगातार वर्षा सुरु भइसकेको छैन। अंग्रेजी महिना जुलाई लागेपछि वर्षे झरी सुरु हुने मौसमविद्ले बताउँदै आएका छन्।
‘अहिले त भारी वर्षाले पनि खासै फरक पारिरहेको छैन,’ मौसमविद् पोखरेलले भनिन्, ‘किनकि अहिले जमिनको माटो भिजिसकेको छैन, त्यसैकारण भारी वर्षा भए पनि अहिले त्यस्तो ठूलो बाढीपहिरोको जोखिम देखिन्न।’

वर्षाको पानीले जमिनको माटो भिजाइसकेपछि भने थोरै वर्षाले पनि असर गर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .