प्रधानमन्त्री पुत्री गंगा दाहालको आदेशमा आफ्नो व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हटाइएको सांसद अमेरशकुमार सिंहले आरोप लगाएका छन्।
आइतबार साँझ नेपालखबरसँगको कुराकानीका क्रममा सांसद सिंहले गृह मन्त्रालयबाट नभइ सिधै प्रधानमन्त्री निजी सचिवालयको आदेशमा आफ्नो सुरक्षा हटाइएको दाबी गरेका हुन्। सांसद सिंहका अनुसार, गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि यसबारे उनले सोधपुछ गरेका थिए।
गृहमन्त्रीले सुरक्षाकर्मी हटाउनेबारे कुनै औपचारिक निर्णय नगरेको र हटाइएकोबारे आफूलाई जानकारी समेत नभएको बताएको सांसद सिंहको भनाइ छ।
‘आइतबार बिहान ड्युटीमै खटिएका प्रहरी अधिकृतले मलाई फिर्ता बोलाइयो भनेर जानुभयो,’ सिंहले नेपालखबरसँग भने, ‘भोलि आउँछ वा आउँदैन थाहा छैन। गृहमन्त्रीले पनि यसबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ।’
सांसद सिंहले आइतबार बिहान प्रधानमन्त्री पुत्री दाहालले व्यापारीसँग कुन मामिलामा कति रकम बुझेको भन्ने सबै प्रमाण आफूसँग सुरक्षित रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका थिए।
केही साताअघि मापदण्ड विपरित प्रयोग भएका करिब ६० जना नेता तथा पूर्व पदाधिकारीका पीएसओ फिर्ता गरिएको थियो। तर, गृह मन्त्रालयको निर्देशनमा अधिकांश पीएसओ पुनः पठाइसकिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले बताए।
त्यतिबेला सांसद सिंहको पनि पीएसओ फिर्ता गरिएको थियो। तर, गृहको सिफारिसमा पुनः उनलाई पीएसओ दिइएको छ।
डीआईजी कडायतका अनुसार आइतबार सांसद सिंहको पीएसओ फिर्ता भएको छैन्। ‘फिर्ता गर्नका लागि गृह मन्त्रालयको आदेश चाहिन्छ,’ कडायतले भने।
केही समययता सांसद सिंह सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्। सांसद सिंह नेपाली कांगेस छाडेर सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए।
Shares
प्रतिक्रिया