ad ad

समाज


एमालेका निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज प्रतिवादीका वकिलले बहस गर्ने

एमालेका निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज प्रतिवादीका वकिलले बहस गर्ने

फाइल तस्बिर : एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी


नेपालखबर
मंसिर २७, २०८० बुधबार १०:११, काठमाडौँ

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आज (बुधबार) देखि प्रतिवादीतर्फका वकिलले बहस गर्ने भएका छन्। 

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ। 

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा जारी सुनुवाइअन्तर्गत मंगलबार सरकारी वकिलको बहस सकिएकाले आज प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएको महोत्तरी अदालतकी स्रेस्तेदार नुतन झाले नेपालखबरलाई जानकारी दिइन्।  

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो। 

हत्यामा तत्कालीन मधेशवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद) लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो।

त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो। जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन्।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी-१ बाट निर्वाचित भएका थिए। 

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।  

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद् भवन नयाँ बानेश्वरमा शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि संसद्‌का केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि फरार भएका हुन्। 

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .