गत मंगलबार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खडकबहादुर केसीको इजलासले उनका छोरा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैदको फैसला सुनायो। अदालत परिसरमा मुनलाल नेपाली (मोहन) केही समय होस गुमेजस्तै भए।
‘मलाई रुन पनि आएन, खुसी पनि लागेन। साँच्चै भनेको, म तकस्तो मुर्दाजस्तो भैगएछु,’ शुक्रबार काठमाडौंको भृकुटीमण्डप परिसरमा भेटिएका मुनलालले सुनाए। १८ वर्षका उनका छोरालाई कथित माथिल्लो जातकी केटीलाई प्रेम गरेको निहुँमा २०७७ साल जेठ १० गते मारियो। त्यसपछि उनी छोराको न्यायका निम्ति लडिरहेका थिए।
आर्थिक अवस्था कमजोर भएका मुनलालका लागि न्यायको यो लडाइँ त्यति सहज थिएन। उनका छोराको न्यायका निम्ति वकालत गर्ने वकिल, आवाज उठाउने अधिकारकर्मी लगायत धेरै मानिस काठमाडौंमा छन्। छोराको हत्यामा संलग्नलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि मुनलाललाई लाग्यो, ‘उहाँहरुबिना मेरो यो लडाइँ सम्भव थिएन। अरु त म के दिन सक्छु र? कम्तीमा एक धन्यवाद दिएर उहाँहरुप्रति आभार प्रकट गरुँ।’
त्यसपछि मुनलालले १० हजार रुपैयाँ ऋण खोजे र काठमाडौं आउने निधो गरे। उनको यो यात्रामा साथ दिन तयार भए खगेन्द्र सुनार। खगेन्द्रसँगै काठमाडौं आइपुगेका मुनलालले शुक्रबार काठमाडौंको शान्ति बाटिकाबाट न्यायिक लडाइँमा साथ दिने सबैलाई धन्यवाद दिए।
त्यसअघि भृकुटीमण्डपमा भेटिएका उनी आफ्नो अतीत केलाइरहेका थिए। बोल्दै गर्दा भन्थे, ‘हत्यारालाई जन्मकैद भयो। सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ। तर मैले ज्याला मजदुरी गरेर हुर्काएको लक्का जवान छोरो मार्दिहाले। छोरो बराबरको के न्याय मिल्छ र?’
मुनलाल ज्याला मजदुरी गर्न भारतका सहरसम्म पुग्थे। देशमै पनि उनले पैसा कमाउन थुप्रै सहर चहारेका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि झण्डै आधा वर्ष उनले गोरखामा बिताए। कहिले ज्यामी काम गरे, कहिले मिस्त्री काम गरे। ९ कक्षासम्म मात्रै पढेका मुनलाल नवराजलाई धेरै पढाउन चाहन्थे। त्यसैले उनले शरीरलाई कहिल्यै आराम दिएनन्। काममा जोतिइरहे।
नवराज पढाइमा ठिकै थिए। १२ कक्षा पढ्दै गरेका उनी खेलकुदमा अब्बल थिए। उनको कोठा खेलकुदमा पाएका पदक र मेडलले भरिएका थिए। उनको सपना थियो प्रहरीमा जागिर खाने। उनले लिखितमा नाम पनि निकालेका थिए। अन्र्तवार्तापछि जागिर सुरु गर्ने समय पर्खिएर बसेका नवराजको सपना पूरा हुन पाएन। उनी मारिए। नवराज मुनलालका एक्ला छोरा थिए। त्यसपछि ज्याला मजदुरी गर्न पनि मुनलालका हातखुट्टा लागेनन्। मुनलालकी श्रीमती उर्मिला नेपाली कुनै रात निदाउन सकिनन्।
छोरा हुँदासम्म मुनलालको स्वास्थ्य अवस्था ठिकठाक थियो। मानिसहरुलाई ओत लगाउन धुरी चढ्थे। आफूभन्दा ठूला भारी बोक्थे र लिन्थे थोरै ज्याला। त्यही जाला ल्याएर बुझाउँथे छोराको फिस र देख्थे भविष्यको सपना। नवराजको हत्यापछि मुनलालले कुनै सपना देख्नै सकेनन्।
‘छोरालाई राम्रोसँग पढाउँछु भन्ने थियो, मेरा दुःख देखेर उसले प्रहरी बन्ने निधो गर्यो। अब छोरा हुर्कियो, सुखका दिन आउलान् भनेर बसेको म सोझो मान्छेले छोराको मुखमा आगो झोसेर फर्किएपछि अर्को के सपना देख्नु!’ मुनलाल बह पोखे।
हजोआज मुनलालको शरीर कमजोर भएको छ। आँखा कमजोर भएका छन्। भन्छन्, ‘रुँदा–रुँदा आँखा यति कमजोर भएका छन्, मोबाइलमा आएका अक्षर चस्मा नलगाई ठम्याउन सक्दिनँ।’
छोराको हत्यापछि आफू पनि सन्त्रासमा बाँचेको मुनलाल बताउँछन्। हरेक पटक अदालत पुगेर घर फर्किंदा मारिदिन्छन् भन्ने डरैडरमा बाटो काटेको उनले सुनाए। उनलाई थाहा छैन, कति पटक अदालत धाए।
भन्छन्, ‘गनेर, सम्झिएर के गरौँ। आफ्नो बच्चाको लागि हिँडेको बाटोको पनि के हिसाब राख्नु र भन्ने लाग्यो। मेरो छोराको न्यायका निम्ति लड्न काठमाडौंदेखि रुकुम पुग्नेहरुलाई एक कप चिया समेत ख्वाउन सकेको छैन। पैसाको हिसाब राख्नै परेन।’
तर उनले हिसाब गर्न छाडेका छैनन् ०७७ साल जेठ पछिको समय। ‘मेरो छोरा बेगरको समयको हिसाब चाहिँ म गरिरहेको हुन्छु,’ मुनलालले आँसु र सुस्केरा सहित सुनाए।
मुनलालले काठमाडौं आउँदा पनि छोडेका छैनन् कालो रंगको एउटा डायरी। त्यही डायरीमा टिपेका छन् छोरा मारिएको मिति। केही थान छोराको मृत शरीरका तस्बिर बोकेका छन्। तिनै तस्बिरका बीचमा छ, नवराजसँगै बसेर मुस्कुराइरहेकी उनकी प्रेमिकाको पनि तस्बिर।
यो तस्बिर चाहिँ किन बोके त उनले?
मुनलाल भन्छन्, ‘मानिसहरु आज पनि मलाई मेरो छोरा र यी नानीको कुनै सम्बन्ध थिएन भन्छन्। म उनीहरुलाई यही फोटो देखाउँछु।’
मुनलालले कयौँ पटक आफूलाई मार्न अघिपछि लागेका मानिसहरुको सामना गरे। अपराधीहरुले ‘म बाहिर निस्किएपछि देख्लास्’ भनेर औला पनि उठाएँ। तर, मुनलाल डराएनन्।
‘जीवनको सबैभन्दा प्रिय मानिस गुमाएपछि त आफ्नो पनि माया नलाग्दो रहेछ,’ मुनलाल भन्छन्।
छोराको हत्यापछि मुनलाल कठोर भए। उनले बाँकी जीवन छोराको न्यायका निम्ति लगाउने अठोट गरे। तर, उर्मिलाले मन बुझाउन सकिनन्। उनी २ वर्षसम्म अर्धचेतजस्तै भइन्। आफ्नाहरुले पनि भनिदिए, ‘काखमा अर्को बच्चो भयो भने यसलाई भुल्ने बाटो हुन्छ।’ त्यसपछि मुनलाल र उर्मिलाले अर्को सन्तान जन्माए। तर, एउटा सन्तानको घाउ अर्कोले पुर्न नसक्दो रहेछ। भर्खर बोली फुटेको सानो छोरामा पनि उर्मिला नवराजको अनुहार देख्छिन् र रुन्छिन्।
‘मलाई त सम्झाउन पनि आउँदैन। म बाबु हुँ, मलाई त सास फेर्न गाह्रो हुन्छ छोराको सम्झनाले। आमालाई कसरी भनुँ नरोऊ हाम्रो अर्को छोरो जन्मिसक्यो भनेर,’ मुनलाल श्रीमतीको दुखाइ सुनाउँछन्।
उर्मिलाले छोरालाई भुल्न सजिलो होला भनेर भित्ताभरी टागिएका छोराका प्रमाणपत्र र मेडल बन्द बाकसमा राखिन्। मुनलाल बेलाबेला सम्झनाको बाकस खोल्थे, छोराका मेडल छातीमा टाँस्थे र रुन्थे। अब त त्यही सम्झना पनि भूकम्पले पुरिदियो। गत कार्तिक १७ गतेको भूकम्पमा छोराका सम्झना पनि पुरिए।
‘शत्रुहरुले छोरा लगे, दैवले उसको सम्झना। अब त हामीसँग उसको याद मात्रै बाँकी छ,’ मुनलाल बोल्दाबोल्दै रोकिए।
आफ्नी प्रेमिका लिन भन्दै २०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक साथीहरुसहित रुकुमको सोती पुगेका थिए। उनको साथ लागेर गएका जाजरकोटकै गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपाली जीवित फर्किएनन्।
अन्तरजातीय प्रेमसम्बन्धमा रहेका नवराज र उनका साथीहरूलाई त्यही आरोपमा सोती गाउँका कथित माथिल्लो जातका व्यक्तिहरूले कुटीकुटी हत्या गरेका थिए। यो घटनामा संलग्न २४ जनालाई हालै जिल्ला अदालत रुकुमले जन्मकैदको फैसला सुनायो। त्यसपछि न्यायिक लडाइँमा साथ दिनेलाई धन्यवाद ज्ञापन गर्न काठमाडौँ आएका मुनलाल भन्छन्, ‘मेरो छोराको नियति अरु कुनै छोराले भोग्नु नपरोस्।’
Shares
प्रतिक्रिया