प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको विवाह काठमाडौँको एक रिसोर्टमा भव्यरूपमा सम्पन्न भएको छ।
महँगो रिसोर्टमा भड्किलो विवाह गरिएको र सामाजिक व्यवहार सुधारसम्बन्धी कानुनले तोके (५१)भन्दा कयौँ बढी निम्तालु बोलाएको भनेर यस विवाहबारे टीकाटिप्पणी पनि भइरहेको छ।
अझ प्रधानमन्त्री प्रचण्ड र उनकी छोरी रेनु कम्युनिस्ट नेता रहेका र उनीहरू अहिले पनि सार्वजनिक पदमै भएका बेला गरिएको कारण पनि यो विवाह बढी चर्चाको विषय बन्न पुगेको छ।
समाजशास्त्रीय आँखामा प्रचण्डकी नातिनीको विवाहको दृश्य कस्तो देखियो त?
समाजशास्त्री राम गुरुङ यसो भन्छन्–
१. चर्चा स्वाभाविक
प्रचण्ड एक आमनागरिक वा व्यक्ति मात्र हुन्थे भने यस विवाहको चर्चा नै हुन्थेन। काठमाडौँ र देशका अन्य होटल–रिसोर्टहरूमा दैनिक अरु कति धेरै विवाह हुन्छन्, ती सबैको उसैगरी चर्चा हुँदैन।
विवाह कसरी गर्ने भन्ने पनि परिवारको रोजाइको विषय हो। यो कुनै आलोचना वा टिप्पणीको विषय होइन, हुनुहुँदैन।
तर प्रचण्ड व्यक्ति मात्र होइन, संस्था हुन्। उनी कम्युनिस्ट नेता हुन्। परिवर्तनका अगुवा अभियन्ता हुन्। तसर्थ, यो विवाह चर्चाको विषय बन्यो, जुन स्वाभाविक छ।
भिडिओ:
२. आम जीवनसँग अमिल्दो
नेतृत्वले सर्वसाधारण नेपालीको जीवनसँग मेल खाने काम गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ। तर, प्रचण्ड परिवारमा भएको यो विवाह आम नेपालीको जीवनसँग मेल खाने खालको भएन। निम्तालु धेरै भए। तकडभडक देखियो।
अगुवाहरूका यस खालका प्रदर्शनले समाजलाई पनि दबाब पार्छ। देखासिकी बढ्छ। खर्च गर्न नसक्नेको विवाह नै हुन मुस्किल पर्छ। छिमेकी भारतमा कयौँ परिवार विवाह खर्च धान्न नसकेर विखण्डित भएका देखिन्छन्।
३. आफ्नै विचारको विपरीत
विगतमा प्रचण्डले कम्युनिस्ट पार्टीमा समर्थक र कार्यकर्तालाई आकर्षित र संगठित गर्न भड्किलोपनको विरोध गरे। परिर्वतनको कुरा गरे। खर्चिलो र बोझिलो हुनुहुन्न भन्दै हिँडे। आज उनकै परिवारले यस खालको विवाह गरिदिँदा विचार र व्यवहार फरक देखियो। अनि स्वाभाविकैले टीकाटिप्पणी हुने नै भए।
उनको पार्टीमा यस कुराको आलोचना गर्ने होलान्, नहोलान्। तर, यो पार्टीकै प्रतिबद्धतासँग पनि मेल खाएन।
४. कानुनको असम्मान
सामाजिक व्यवहार सुधार ऐनमा भएका व्यवस्था आजको समयअनुकूल छन् कि छैनन् भन्ने बेग्लै बहस गर्न सकिन्छ। तर, पदमा बसिसकेपछि कानुनको सम्मान गर्न सक्नुपर्छ। कानुनको परायणताले नै समाजमा थिति बस्ने हो। तर, हामीकहाँ कानुन मान्ने संस्कृति छैन। उल्लंघन गर्न सक्दा ठूलो भइने सोच छ। प्रचण्डकी नातिनीको विवाहमा पनि यस्तै देखियो।
५. सन्तुलन मिलाउन असफल
प्रचण्डले परिवारको आग्रह वा दबाब नाघ्न नसकेका पनि हुन सक्छन्। उनको परिवारको आर्थिक अवस्था हेरी यो सामान्य लाग्न पनि सक्छ। आर्थिक अवस्थाले धान्छ भने विवाहको उत्सवमा किन कन्जुस्याइँ गर्ने भन्ने विचार जोकोही परिवारको हुन्छ।
तर, प्रचण्डले आफ्नो पदीय ओहोदा, जिम्मेवारी र विगतका आफ्नै विचारसँग तालमेल हुने गरी रणनीतिक निर्णय लिन सक्थे। परिवारलाई मनाउन सक्थे। यसमा पनि प्रचण्ड चुकेको देखियो।
Shares
प्रतिक्रिया