रुसी सेनामा गएका नेपालीलाई १५ दिनको तालिमपछि युद्धमा पठाइने गरेको पाइएको छ। रुस पठाउने गिरोहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले रुसी सेनामा जाने नेपालीलाई १५ दिन हतियार चलाउन तालिम दिएर युद्धग्रस्त क्षेत्रमा खटाउने गरेको जनाएको हो।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘रुसमा आकर्षक पारिश्रमिक प्राप्त हुने हुँदा त्यसतर्फ लोभिन गई त्यहाँ पुग्ने बित्तिकै हतियार बोकेर युद्धमा होमिएको देखिन्छ। जुन कारण नेपालीको सुरक्षामा ठूलो खतरा देखिन्छ।’
प्रहरीका अनुसार नेपालीहरु भारत, दुबई, कतार, टर्की लगायत देशबाट रुस पुग्ने गरेका छन्। उनीहरु रुस पुगेपछि त्यहाँ रहेका नेपाली र रुसी एजेन्टले पासपोर्ट लगायतका कागजात र मोबाइल समेत कब्जा गरेर काउन्सिलिङ क्याम्पमा लाने गरेका छन्। त्यहाँ लगेर १५ दिन हतियार चलाउने तालिम गराएर ६/७ घण्टाको हवाईमार्ग हुँदै हेलिकप्टरमा रुस युक्रेन युद्ध क्षेत्रमा पु¥याउने गरेको प्रहरीको दाबी छ।
रुसी सेनामा भर्ती भएका नेपालीले कमाउने मासिक करिब २ लाख रुपैयाँ पनि गैरकानुनी रुपमा पठाउने गरेको खुलेको छ।
प्रहरीले रुसी सेनाबाट भागेर आएका नेपालीहरुलाई समेत बोलाएर अनुसन्धान गरिरहेको छ। तर त्यसरी फर्किएका व्यक्ति प्रहरीको सम्पर्कमा आउन मानिरहेका छैनन्। रुसमा रहेका व्यक्तिका परिवारलाई बोलाएर पनि काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ।
रुसी सेनामा भर्ती हुन नेपालीलाई अनुमति छैन। उनीहरु अवैध रुपमा त्यहाँ पुगेका हुन्।
रुसी सेनामा भर्ती भएका नेपालीहरु भारतबाट विभिन्न देश ट्रान्जिट हुँदै पुग्ने गरेको पाइएको छ। प्रहरीले रुस पठाउने गिरोहमाथि अनुसन्धान सुरु गरेपछि रुस जाने नेपालीको संख्या कम भएको काठमाडौं परिसरका अनुसन्धान अधिकारीले बताए।
अध्यागमन विभाग, नेपाल प्रहरी, विमानस्थललाई छल्नका लागि जाने व्यक्तिले रुस र ट्रान्जिट देशको पनि भिसा लिने र त्यहाँबाट रुस पुगेर सेनामा काम गर्ने गरेको अनुसन्धानको निष्कर्ष छ। रुस जाने नेपालीको प्रमुख ट्रान्जिट यूएई देखिएको छ। यूएईका लागि भिजिट भिसा सहजै पाइने भएकाले पनि रुस जाने नेपालीहरु त्यहाँबाट छिर्ने गरेको पाइएको छ।
६ महिनामा भिजिट भिसामा १,२२७ जना गए रुस
अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा मात्रै भिजिट भिसामा १ हजार २२७ जना रुस भ्रमणका लागि गएका छन्। १ जुन २०२३ देखि डिसेम्बर ११ सम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेरै यो संख्यामा नेपालीहरु रुस उडेका हुन्।
अन्य रुटबाट र अन्य देश ट्रान्जिट बनाएर कति नेपाली रुस पुगे भन्ने सरकारसँग समेत एकिन तथ्यांक छैन।
यसबीचमा दुई वटा म्यानपावर कम्पनीले एक सय बढी नेपालीलाई रुसमा पठाएका छन्। उनीहरु सिनामंगलस्थित फ्रन्टलाइन रिक्रुटमेन्ट र अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स कम्पनीबाट गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। २०७८ पुस १ गतेदेखि २०८० मंसिर २४ गतेसम्ममा फ्रन्टलाइनबाट ५६ जना र अल स्किलबाट १०३ जना रुस गएका छन्।
यो अवधिमा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर जानेको संख्या ६५१ रहेको छ।
मंसिरमा पनि उडे ४० जना
सरकारले रुसी सेनामा नजान आग्रह गरे पनि रुस जानै भने प्रतिबन्ध लगाएको छैन। जसकारण अहिले पनि दिनहुँ मानिसहरु रोजगारीका लागि रुस गइरहेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा मात्रै ४० जनाले रोजगारीका लागि रुस जान अन्तिम श्रम स्वीकृति लिएका छन्। ३५ जना नयाँ श्रम स्वीकृति र ५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।
श्रमिकलाई रुसी सेनामा नजान आग्रह गरे पनि सरकारले श्रम स्वीकृति नरोकेको विभागका निमित्त प्रमुख गोपालराज तिमल्सिनाले बताए। उनका अनुसार विभागबाट स्वीकृति लिएर जानेहरुमा कुनै समस्या परेको भनेर उजुरी आएको छैन। उजुरी परेमा म्यानपावरबाट गएकाहरुको हकमा म्यानपावर कम्पनीलाई नै जिम्मेवार बनाइने तिमल्सिनाले बताए।
उद्धारका लागि १४ जनाको मात्रै निवेदन
रुसमा फसेका नेपालीमध्ये १४ जनाका परिवारले मात्रै सरकारसँग उद्धारका लागि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागका अनुसार हालसम्म १४ जनाका परिवारले रुसबाट आफन्तको उद्धार गरिदिन आग्रह गरेर निवेदन दिएका छन्।
निवेदनमा रुसमा भएका आफन्त जोखिमपूर्ण काममा रहेको भन्दै तत्काल उद्धारका लागि आग्रह गरेका छन्। उनीहरुका आफन्त रुसको सेनामा रहेको कन्सुलर सेवा विभागले जानकारी दिएको छ। विभागका एक अधिकारीले यसरी परेका निवेदनमाथि अनुसन्धानका लागि प्रहरीलाई पठाइएको बताए।
‘हामीलाई प्राप्त निवेदन विवरणसहित प्रहरीलाई पठाइसकेका छौँ। प्रहरीले रुसी सेनामा पठाउने गिरोहबारे अनुसन्धान गरिरहेको छ,’ उनले नेपालखबरसँग भने।
रुस पुगेर अप्ठेरोमा पर्नेहरु सरकारसँग स्वीकृति नलिई गएकाहरु रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर गएकामध्ये एक जनाले अहिलेसम्म निवेदन नदिएको विभागका निमित्त प्रमुख गोपालराज तिमल्सिनाले बताए।
रुसी सेनामा पठाउने भन्दै ठगी गरेको आरोपमा १५ जनाले काठमाडौँ परिसरमा निवेदन दिएका छन्। उनीहरुको निवेदनका आधारमा अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
उजुरीकर्ताले दिएको जानकारी अनुसार पहिचान भएका व्यक्तिहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म रुस पठाउने गिरोहका १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। तीमध्ये पनि ५ जना मुख्य भूमिकामा रहेको प्रहरीको भनाइ छ।
रुसी सेनामा रहेका नेपाली मारिएपछि सरकारले चासो बढाएको थियो र प्रहरीलाई यसबारे अनुसन्धान गर्न निर्देशन दिएको थियो।
Shares
प्रतिक्रिया