बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनमा आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन्।
मन्त्रालयका विज्ञ चिकित्सक डा.शाकार खनालका अनुसार भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ।
अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको उनले बताए। गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका छन्। अटिजम जन्मजात आउने अवस्था हो। यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ। यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनस्र्थापनाले सुधार गर्न सकिने जानकारी दिए।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताए।
गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता थियो। रासस
Shares
प्रतिक्रिया