२०६२ जेठ १३ गते।
देशमा निरंकुश राजतन्त्र कायम थियो। राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर प्रतिगामी शासन चलाएका थिए। त्यसविरुद्ध देशैभर आन्दोलन चलिरहेको थियो। सात राजनीतिक दलको नेतृत्वमा चलेको आन्दोलनले युवा, विद्यार्थी, सञ्चारकर्मी र संघसंस्थालगायत पूरै देशको ध्यान तानेको थियो।
यही मौका पारेर भारतले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटा (साविक पराशन गाविस-८) को सीमावर्ती क्षेत्रमा रहेको प्याराताल कब्जा गर्यो।
जतिबेला नेपालमा जनआन्दोलन वा आमनिर्वाचन जस्ता देशकै ध्यानाकर्षण हुने अवस्था आउँछ, त्यस्तो मौका छोपेर भारतले विभिन्न क्षेत्रमा सीमा मिच्ने काम गरेकै छ।
प्याराताल अतिक्रमण पनि त्यही शिलशिला थियो। जनताको ध्यान व्यवस्थाविरुद्धको आन्दोलनमा भइरहेको बेला भारतीय पक्षले प्यारातालसहित करिब ६ सय बिघा जमिन आफ्नोतर्फ पार्नेगरी रातारात नाली खनेर नक्कली पिल्लर नं. ७६२/५–७६६ खडा गर्यो।
यो अतिक्रमणले त्यहाँ रहेको विद्यालय राष्ट्रिय माविको दुई बिघा बढी जग्गासहित स्थानीयको जग्गा भारततिर गाभियो, जैविक र रणनीतिक महत्वको प्याराताल भारतीय कब्जामा पर्ने अवस्था आयो, अझ महत्वपूर्ण कुरा नेपाली राष्ट्रियतामाथि अतिक्रमण भयो।
तर, व्यवस्थाविरुद्ध जागेका जनताका लागि भारतीय अतिक्रमण सह्य थिएन। त्यसैपनि सिमावर्ती क्षेत्रका जनताले पटक–पटक लडेरै सीमा जोगाएका छन्।
प्याराताल अतिक्रमण पनि सजिलै छोड्ने कुरा थिएन। स्थानीय जनताले ‘सीमा बचाउ अभियान’ गठन गरेर अतिक्रमणविरुद्ध धावा बोले। अभियानका संयोजक थिए, तत्कालिन पराशन गाउँ पञ्चायतका अध्यक्ष दीनबन्धु अर्याल।
अर्याल नेतृत्वको अभियानको आग्रहमा कैलाली र कञ्चनपुरका हजारौँ नागरिक प्याराताल पुगे। भारतले खनेको नाला पुरिदिए र जंगे पिलर तोडेर त्यही नालामा गाडिदिए।
प्याराताल पारिपट्टि करिब दुई सय मिटर पर रहेको नेपाल भारत वास्तविक पिलर नं १९५ (जो भत्काइएको छ) उठाएर अतिक्रमित भूमि र प्याराताललाई अतिक्रमणबाट जोगाए।
निरन्तर अतिक्रमणको चपेटामा प्याराताल
भारतीय पक्षले पुनर्वासको सीमा अतिक्रमण गरेको यो पहिलो पटक थिएन, न त त्यसपछि रोकिएको छ। कञ्चनपुरको सीमा क्षेत्रमा नाली खन्ने, बोटबिरुवा लगाउने वा नेपालीलाई आफ्नै लालपूर्जावाला जमिनमा खेतीपाती लगाउन नदिने जस्ता हर्कत जारी नै राखेको छ। सीमा क्षेत्रमा विकास निर्माणका संरचना बनाउन भारतले जहिल्यै अवरोध गरेकै छ।
त्यसविरुद्ध सिमाक्षेत्रका जनताले लगातार प्रतिवाद गरेरै सीमाको रक्षा गरेका छन्। पुनर्वासका युवा गोविन्द गौतम सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहिद बने। तर, जनस्तरबाट मात्रै सम्पूर्ण सीमा रक्षा सम्भव भएको छैन।
तालसँगै सीमा रक्षामा नागरिकको खबरदारी
कञ्चनपुरको दक्षिणी क्षेत्रमा सिमानाका सिपाही बनेर उभिएका दीनबन्धु अर्याल यतिबेला छैनन्। करिब चार वर्षअघि उनको निधन भयो। तर, उनको बिँडो थाम्न उभिएका छन्, पत्रकार दीपेन्द्र बस्नेत।
प्यारातालको संरक्षण र सीमा अतिक्रमणको पीडा मत्थर पार्नेगरी बस्नेत यतिबेला ‘नागरिक अभियान’ मा सक्रिय छन्। उनको नेतृत्वमा प्यारातालको सरसफाइदेखि ताल छेउमा धमाधम भौतिक संरचना बनिरहेका छन्। उनको अभियानमा देश–विदेशमा रहेका सहयोगी हातहरुले आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।
पत्रकार बस्नेतका अनुसार प्याराताल परिसरमा तालको पहिचान झल्कने माछा, कछुवा र ओदको प्रतिमा निर्माण भएको छ। सेल्फी स्पट, पानीको फोहरा, पिकनिक स्पट, गोही र मयुरको प्रतिमा बन्ने क्रममा छन्।
कतिपय व्यक्तिहरुले आफैँ पनि विभिन्न संरचना बनाइरहेका छन् भने कतिपय संरचना बस्नेत नेतृत्वको अभियानले आर्थिक संकलन गरी निर्माण गरिरहेको छ।
पुनर्वास नगरपालिका ९ नम्बर वडा कार्यालयले पिकनिक स्पटका लागि दुई लाख रुपैयाँ छुट्याएको छ भने स्थानीय जनजागरण सामूदायिक वनले पर्यटकको विश्रामका लागि विश्राम गृह निर्माण गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ।
सुरुमा तालको पहिचान झल्किने माछाको स्तम्भ निर्माण गर्ने भनेर अभियान सुरु गरिए पनि विभिन्न क्षेत्रबाट सहयोग बढ्दै गएपछि अन्य संरचना पनि थपिँदै गएको बस्नेतले बताए।
दुर्लभ जलचर ओद, कछुवा र मयुरको प्रतिमा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण भइरहेको छ भने तालको जैविक पहिचान उजागर गर्न उद्योग वाणिज्य संघ पुनर्वासले गोहीको प्रतिमा निर्माण गर्ने निर्णय गरेको छ।
यस्तै, कैयौँ व्यक्तिहरुले ताल परिसरमा बस्नको लागि बेन्च निर्माण गरिदिनेदेखि तालको सरसफाई र अन्य आवश्यक भौतिक संरचना निर्माणमा प्रत्यक्ष सहयोग गरिरहेको बस्नेत बताउँछन्।
यसकारण प्याराताल कब्जा गर्न चाहन्छ भारत
कञ्चनपुरको दक्षिण–पूर्वी सिमाक्षेत्रमा अवस्थित प्याराताल जैविक विविधताले मात्रै होइन, पर्यटकीय र रणनीतिक दृष्टिकोणले समेत महत्वपूर्ण छ।
पुनर्वासको दक्षिणी सिमाक्षेत्र मोतियाफाँटामा उत्पन्न भएको प्याराताल नहरको आकारमा धनसिंहा हुँदै बिचफाँटा पुगेको छ। त्यहाँबाट पूर्वतर्फ भारतको विशाल दूधवा नेसनल पार्कमा रहेको नालामा मिसिएको छ।
झण्डै साढे चार किलोमिटर लामो यो तालमा दूर्लभ जलचररू ओद (पानी बिरालो), सुन कछुवा र सुन गोहोरो उल्लेख्य मात्रामा छन्। यस्तै, विभिन्न प्रकारका माछा, चराचुरुङ्गीलगायत प्राणीहरू पाइन्छ। भारतको दूधवा नेसनल पार्कका वन्यजन्तुको लागि बाह्रै महिना पानीको आवश्यकता परिपूर्ति गर्छ।
यिनै महत्वका कारण भारतीय पक्षले प्याराताल आफ्नो कब्जामा लिन लगातार प्रयत्न गर्दै आएको छ। तालको सुरुवात बिन्दु मोतियामा भारतले विवाद नगरेपनि मध्य क्षेत्र धनसिंहामा आफ्नो भूभागतर्फ भएको दाबी गर्दछ। त्यसकारण झण्डै आधा तालमा भारतीय पक्षले कुनै संरचना बनाउन दिँदैन। त्यस क्षेत्रमा माछा मार्ने काम समेत भारतीयले नै गर्ने गरेका छन्।
स्थानीय सरकारको उपेक्षा
जैविक र सामरिक महत्वको यो ताल संरक्षणमा स्थानीय सरकारले नै अगुवाई गर्नुपर्ने संरक्षणकर्मी बस्नेत बताउँछन्। पहिले तत्कालिन जिल्ला विकास समितिले तालको संरक्षण र माछा मार्ने ठेक्का दिने गरेको भए पनि पछिल्लो समय संरक्षणको जिम्मेवारी स्थानीय तहलाई प्राप्त छ। तर, संरक्षणमा पुनर्वास नगरपालिकाले ध्यान नदिएको संरक्षणकर्मी बस्नेत बताउँछन्।
‘प्यारातालको संरक्षण स्थानीय सरकारको अगुवाईमा होस् भन्ने हाम्रो चाहना हो। पुनर्वास नगरपालिकालाई हामीले बारम्बार आग्रह गर्यौँ’ बस्नेत भन्छन्, ‘तर नगरपालिकाले चासो नदिएपछि कोही न कोही त अग्रसर हुनुपर्यो भनेर हामीले नागरिक अभियानमार्फत पहल सुरु गरेका हौँ।’
नागरिकको तहबाट सुरु गरिएको संरक्षण अभियानमा सहयोगका हातहरू उत्साहजनक रुपमा अघि बढेपछि वडा कार्यालयबाट पिकनिक स्पटका लागि सहयोग प्राप्त भएको बस्नेतले बताए।
बस्नेतको अभियानलाई पुनर्वास नगरपालिका ९ नं वडाकार्यालयले दुई लाख रुपैयाँ सहयोग गरेको छ। यसबाहेक नगरपालिकाको तर्फबाट कुनै सहयोग नभएको बस्नेतले गुनासो गरे।
पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा भने तालको संरक्षणमा आफूहरुले पर्याप्त ध्यान दिएको दाबी गर्छन्। तालको बिस्तृत अनुसन्धान प्रतिवेदन (डीपीआर) निर्माणको योजनामा नगरपालिका रहेको उनले बताए।
‘तालको संरक्षणमा नगरपालिकाले ध्यान दिएको छ। हामी तालको डीपीआर बनाउने योजनामा छौँ’, मेयर शर्माले भने, ‘दिपेन्द्र भाइहरूले हतार गरेर अभियान थाल्नुभयो। तैपनि राम्रै गर्नुभा’छ। हामीले वडा कार्यालयबाट दुई लाख रुपैयाँ पिकनिक स्पटका लागि दिएका छौँ। वडाले दिने पैसा पनि त नगरपालिकाको हो नि।’
मेयर शर्माले पुनर्वासको सीमा जोगाउँदा मृत्यु भएका सहिद गोविन्द गौतमको परिवारलाई नगरपालिकाले दिने सहयोगलाई निरन्तरता दिएको पनि उल्लेख गरे। नगरपालिका सीमा क्षेत्रको संरक्षणमा संवेदनशील रहेको उनको भनाई छ।
राज्यको उपेक्षामा पिल्लर नं १९५
पुनर्वास नगरपालिका वडा नं ९ बिचफाँटास्थित प्यारातालको पारिपट्टि करिब दुई सय मिटर पर नेपाल–भारत सिमास्तम्भ नम्बर १९५ छ।
वर्षौंदेखि ढलेको अवस्थामा रहेको यो पिल्लर उठाउने र सिमाना व्यवस्थित गर्नेतर्फ राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ। भारतीय पक्षसँग समन्वय गरेर १९५ नम्बर पिलर व्यवस्थित गर्न सके धेरै समस्याको समाधान हुने अभियन्ता बस्नेत बताउँछन्।
ढलेको पिल्लर नं. १९५ लाई नेपाली पक्षले बेवास्ता गर्दा भारतले पटक पटक अतिक्रमणको प्रयास गर्ने गरेको उनको भनाई छ। तालको पारिपट्टि वनक्षेत्र छ भने वारि कतिपय ठाउँमा वन र कतिपय स्थानमा गाउँ छ। ताल पारिको वन क्षेत्रमा नेपालीको पहुँच करिब छैन। तर, ताल वारीकै कतिपय स्थानमा भारतीय पक्षले दाबी गरिरहेको छ।
प्यारातालको संरक्षण पर्यटन प्रवर्द्धन र जैविक विविधताको संरक्षण मात्र होइन राष्ट्रियताको पनि सवाल भएकोले राज्यको ध्यानाकर्षण हुनुपर्ने संरक्षणकर्मी बस्नेत बताउँछन्।
Shares
प्रतिक्रिया