मानिसहरु बिग्रिएको बाइक डोर्याउँदै आउँथे। वर्कसपमा काम गरिरहेकी सुनितालाई देखेपछि फर्केर जान्थे। उनको क्षमतालाई यसै अविश्वास गरेर जानेहरुलाई सुनिता कोइराला एकटकले हेर्थिन्।
‘तपाईंले पनि बाइक बनाउनु हुन्छ? छोरी मान्छेले पनि यस्तो काम गर्न सक्छ?’ कतिपय उनलाई प्रश्न गर्थे। यस्तै प्रश्न सामना गर्दै काठमाडौँ बुद्धनगरमा रहेको ‘बुद्ध मोटरसाइकल वर्कसप’ मा उनले काम गर्न थालेको एक दशक बित्यो।
सुनिता आफैँलाई पनि यो काममा हात हाल्ने निर्णय लिन समय नलागेको होइन। उनका श्रीमान् बुद्ध कोइराला बुद्धनगरमा मोटरसाइकल वर्कसप चलाउँथे। सुनिता घर व्यवहारमै व्यस्त थिइन्। उनीहरुका एक सन्तान थिए। सामान्य परिवारका सुनिता र बुद्धको जीवन ठिकठाक थियो। तर बुद्धको वर्कसपमा काम गर्ने कामदारहरु टिकेनन्।
‘केटाहरु काम खोज्दै आउँथे। काममा पर्फेक्ट हुन्थे, काम छोडेर जान्थे,’ उनले भनिन्।
ग्यारेजमा बुद्ध एक्लै काम गरिरहेका थिए। सुनितालाई लाग्यो, ‘अब म आफैँ काम सिक्छु र श्रीमानलाई सघाउँछु।’
११ वर्षअघि सुनिताले मोटरसाइकल बनाउँछु भन्दा उनको परिवारका सदस्य छक्क परेका थिए। अझ उनकी आमाले त ‘छोरी मान्छे भएर यस्तो काम गर्न सक्दिनौ’ पनि भनिन्। बुद्धकी आमाले भने ‘गर्न सक्छु भन्ने लाग्छ भने गर। आफ्नो हातमा सिप भएको त राम्रो हो’ भनेर हौसला दिइन्। सुनिताको आँटलाई बुद्धले भर दिए।
विवाह गरेर एउटी छोरी हुर्कंदासम्म सुनिताले आर्थिक उपार्जन गर्ने कुनै सपना देखेकी थिइनन्। बुवाआमाले चाहेर पनि सुनितालाई पढाउन पाएनन्। शैक्षिक योग्यता नभएकै कारण सुनिताले अभावमा पनि आयआर्जनको बाटो खोजिनन्। गृहस्थी गर्ने, श्रीमानको कमाइले सामान्य तरिकाले जीवन चलाउने सोचिरहेकी सुनिताले श्रीमानको एक्लो दुःख देख्न सकिनन्। श्रीमानसँगै सिकिन्, ग्यारेजका सबै काम।
श्रीमानको सहयोग र आम्दानीमा भरथेग गर्न भनेर बाइक बनाउन सिक्न थालेकी सुनिता एक वर्षमा बाइकका सबै पार्टपुर्जा जडान गर्न सक्ने भइन्। सुनिताले काम सिकेपछि बुद्ध कामदार खोजिरहनु पर्ने झन्झटबाट मुक्त भए। यही ग्यारेजको कामबाट यो जोडीले अहिले ललितपुरको इमाडोलमा घर बनाएको छ। दुई सन्तानकी आमा सुनिता आफ्नै परीश्रमको पैसा खेलाउन पाउँदा दंग छिन्।
‘घरमा बस्यो। घरधन्दामै समय बित्थ्यो। बाहिर केही गर्न भ्याइँदैन होला भन्ने लाग्थ्यो। तर, इच्छा भए समय जसरी पनि व्यवस्थापन हुने रहेछ,’ सुनिताले सुनाइन्। सुनिताले सफलताको कथा सुनाउँदै गर्दा हिजोको अप्ठ्यारो बाटो पनि सम्झना गरिरहिन्। उनका लागि सबैभन्दा ठूलो संघर्ष त समाजको सोचसँग गर्नु थियो। ‘छोरीले पनि यस्तो काम गर्न सक्छन् र?’ बाट सुरु भएको उनको मेकानिक यात्रा ‘सुनिताले खुब राम्रो काम गर्छिन्’ सम्म आइपुगेको छ। यो यात्रा अहिले अरुले देखेजस्तो सजिलो भने थिएन।
श्रीमानले सञ्चालन गरेको ग्यारेज भएकाले सिकाइ सुनिताका लागि निःशुल्क थियो। तर, सिक्ने काम सहज थिएन। बाइकहरू गह्रौँ हुन्थे। सुनिताले मर्मत सिक्नुअघि बाइक चलाएकी पनि थिइनन्। सिक्ने र श्रीमानलाई साथ दिने निर्णय गरे पनि सुनितालाई यही काममा पारंगत भएर जीवन नै सहज बनाउँला भन्ने चाहिँ लागेको थिएन। सुनिताकी छोरी त्यतिबेला सानै थिइन्। कयौँ पटक सुनिताले छोरी पिठ्युमा बोकेर मर्मतको काम गरेकी छिन्।
ग्यारेजको काम सिक्दै गर्दा पनि वरपरका मानिसले आश्चर्य मानेर हेर्थे। ‘उनीहरुलाई लाग्दो रहेछ, मैले घर व्यवहारको काम गर्न नजानेर/नसकेर बाइक बनाउन सिक्ने आएकी हुँ,’ सुनिताले सिकाइका दिन सम्झँदै भनिन्।
सुनिताले सिकिसकेपछि पनि उनको काम नै नहेरी कति मानिस फर्किएर गए। त्यतिबेला सुनिताको मन अमिलो हुन्थ्यो। उनलाई लाग्थ्यो, ‘एकदिन मानिसहरुको सोच फेरिने छ।’ तर, त्यो एकदिन कहिले आउँछ उनलाई थाहा थिएन। महिलाले गर्न सक्दिन भन्ने सोचसँग लड्दै गर्दाको त्यो क्षण सुनिताका लागि आज सपना जस्तै भएका छन्। ‘हिजोआज त मानिसहरु परैबाट सुनिता दिदी मेरो बाइक हेर्दिनु है भन्दै आउँछन्,’ सुनिताले खुशी साटिन्।
श्रीमतीको कुरा सुनिरहेका बुद्ध मुस्कुराउँदै भन्छन्, ‘उनलाई सिकाउन धेरै मेहनत नै गर्नु परेन। गर्दै सिक्दै गरेकाले पनि चाँडै काम सिकिन्। धेरै काम त हेरेरै सिकिसक्थिन्।’ गाउँका र वरपरका मानिसले सुनिताको सिकाइलाई लिएर गर्ने कुरा बुद्धको कानमा पनि बेलाबेला ठोक्किएकै हुन्। चिया पसलमा पनि सुनिताको नाम लिएर जिब्रो टोक्नेहरु भेटिन्थे। बुद्धले यी सब कुराको वास्तै गरेनन्।
महिनैपिच्छे कामदार खोजिरहनु पर्ने, काम सिकेपछि मेकानिक नबस्ने कारणले हराइरहेको बुद्धको आत्मविश्वास सुनिता सारथी बनेर घरबाट ग्यारेजमा आएपछि मजबुत बन्यो। सुनिताले पनि ग्यारेजमै भविष्य र सम्भावना देख्न थालिन्। सुरुमा मेकानिक भएर काम गर्न नहुने सुझाएकी सुनिताकी आमाले स्याबासी दिइन्।
‘जिन्दगीको सबैभन्दा ठूलो खुसी र सम्पत्ति बा–आमाले स्याबास भनेर पिठ्युँमा मारेको धाप हुने रहेछ। आमाले स्याबास छोरी भनेको दिन म सबैभन्दा धेरै खुसी भएँ,’ सुनिता मुस्कुराइन्।
महिलाले बाइक मर्मत गराउने कुरामा ढुक्क नभएर अन्य ग्यारेजमा गएका कतिपय ग्राहक हिजोआज आफ्नो बाइक मर्मतका लागि सुनितालाई नै खोज्छन्। मानिसहरुको यो विश्वास जित्न सुनितालाई दशक लाग्यो।
आफ्नै कमाइ, आर्थिक स्वतन्त्रताले गर्दा अहिले समाजमा मानिसहरुले सुनितालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ।
‘मैले मोटरसाइकल बनाउन नसिकेको भए अहिले म एउटा सामान्य गृहणी मात्रै हुन्थेँ। धेरै गरे घरको अवस्था उकास्न मेरा दिदीबहिनीहरु जस्तै घरेलु कामदारको जागिरमा विदेश जान्थे हुँला। श्रीमानको एक्लो कामले ग्यारेजमा पसेँ, यसले मलाई खुसी र सन्तुष्टि दिएको छ,’ सुनिताले भनिन्।
तस्बिर/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया