ad ad

समाज


प्रेस काउन्सिलले पढाउन थाल्यो युट्युबरलाई

प्रेस काउन्सिलले पढाउन थाल्यो युट्युबरलाई

नेपालखबर
पुस २६, २०८० बिहिबार १९:१७, काठमाडौँ

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ।

बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए।

उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गरेका थिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताए। काउन्सिलले युट्युबरका समस्यामा गम्भीरतापूर्वक कार्य गरिरहेको पनि उनले बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताए।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले युट्युबमार्फत गरिने पत्रकारिता सन्तुलित र जवाफदेही नहुने हो भने यसमाथि प्रश्न सधैँ उठिरहने उल्लेख गरे।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमलगायतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरे।

यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू’, सह प्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा कार्यपत्र प्रस्तुत गरे।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .