ad ad

समाज


रोल्पाको जेलबाङमा वृत्तचित्र ‘आग्रे’, वर्षमानले भने : गाउँको अवस्था बदल्न लागेका छौँ

रोल्पाको जेलबाङमा वृत्तचित्र ‘आग्रे’, वर्षमानले भने : गाउँको अवस्था बदल्न लागेका छौँ

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:४९, काठमाडौँ

मगर जातिको पुर्ख्यौली पेशामा आधारित चर्चित वृत्तचित्र आग्रेको रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङमा प्रदर्शन गरिएको छ। 

जेलवाङकै फलाम खानी र त्यसमा काम गर्ने मजदुरहरूको कथावस्तुमा आधारित वृत्तचित्र छायांकन गरिएको स्थानमा पहिलोपटक प्रदर्शन गरिएको हो।

जेलबाङमा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एक कार्यक्रमबीच वृत्तचित्र प्रदर्शनीको उद्घाटन गरे।

मगर खाम र अंग्रेजी भाषामा निर्मित आग्रेले नेपालमा मात्र नभई धेरै देशमा चर्चा र ख्याती कमाएको छ।

नेपालका साथै अमेरिका, बेलायत, रुस, जर्मनी, जर्जिया, अष्ट्रेलिया, इटाली, नेदरल्याण्ड, कोरिया, भारत, बंगलादेश, स्लोभाकिया, रोमानिया, कम्बोडिया, अफ्रिका र कोलोम्बियासहित ३९ देशमा आयोजित फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको वृत्तचित्रले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। 

आग्रेले गत वर्ष अमेरिकामा आयोजित स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिबलमा सर्वश्रेष्ठ डकुकेन्ट्री तथा अमेरिकामै आयोजित आदिवासी फिल्म फेस्टिबलमा तीनवटा पुरस्कार पाएको छ।

सन् २०२२ मा जर्जियामा आयोजित ‘मेस्टिया इन्टरनेसनल सर्ट एण्ड माउन्टेन फिल्म फेस्टिभल’ मा उत्कृष्ट सिनेमाटोग्राफीको उपाधि जितेको थियो।

आग्रेले नेपालमा पनि काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अबार्ड–२०२२, नेपाल ह्युमान राइट्स फेस्टिबल उत्कृष्ट अवार्ड–२०२२ सहित विभिन्न पुरस्कार हात पारेको छ। 

जेल्बाङ सेवा समाजको लगानीमा निर्मित वृत्तचित्रको लेखन कवि विष्णु पुन सन्नयास र निर्देशन अनिल बुढामगरले गरेका हुन्। वृत्तचित्र वर्षौं फलामखानीमा काम गरेका रोल्पाली मगर समुदायका वृद्धको जीवन कथामा आधारित छ। 

कार्यक्रमा रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले ३ सय ९२ वर्षसम्म लगातार उत्खनन् गरिएको फलामखानी ०४६ सालपछि तत्कालीन सरकारले गरिदिएपछि त्यहाँ कार्यरत स्थानीय मजदुरहरूको रोजीरोटी खोसिएको विषयलाई वृत्तचित्रले प्रष्ट पारेको बताए।

उनले रोजीरोटी खोसिएपछि फलामखानीका मजदुरहरु जिविकोपार्जनका लागि कोही भारत गएको र कोही गाउँमै बेरोजगार बनेको उल्लेख गरे।

पुनले रोल्पा माओवादी जनयुद्धको उदगम थलो हुनुका विविध राजनीतिक र सामाजिक कारणहरुमध्ये उक्त घटना पनि एक भएको बताए।

वृत्तचित्रले खानी बन्द भएका कारण रोजगारी गुमाएका धेरै मानिसहरु माओवादी जनविद्रोहमा सामेल भएको देखाएको छ।

जेलबाङमा माओवादी जनयुद्धका क्रममा ७३ जनाले ज्यान गुमाए। जसमध्ये ६३ जना राज्य र १० जना माओवादीतर्फबाट मारिएका हुन्। 

पुनले कुनै समय गाउँमै काम गरेर आत्मनिर्भर रहेको जेलबाङ गाउँले फलाम खानी बन्द भएपछि ठूलो समस्या भोगेको भन्दै आफूहरू जेलबाङजस्ता ऐतिहासिक गाउँका अवस्था बदल्ने अभियानमा निरन्तर लागिपरेको उल्लेख गरे।

जेलबाङबाट सिंगो मुलुकले आत्मनिर्भरता र राष्ट्रियताको सन्देश लिन सक्ने पुनको भनाइ थियो। कार्यक्रममा पुनले जेलबाङमा निर्मित आग्रे संग्रहालय भवनको पनि उद्घाटन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .