ad ad

समाज


अदालतले भ्रष्टाचार ठहरेपछि पूर्वडीआईजी शाहले भने- लेखापालले किर्ते गरेछ

अदालतले भ्रष्टाचार ठहरेपछि पूर्वडीआईजी शाहले भने- लेखापालले किर्ते गरेछ

नेपालखबर
माघ ४, २०८० बिहिबार २०:९, काठमाडौँ

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई ३ वर्ष कैद सजाय सुनाइएका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहले लेखापालको कारण आफू फसेको प्रतिक्रिया दिएका छन्।

लेखापालले किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको तर आफूले त्यसको दोष बेहार्नुपरेको भन्दै उनले असन्तुष्टि पोखेका छन्। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगोबराबर जरिवाना असुल गर्न पनि आदेश दिएको छ।

मध्यक्षेत्रीय तालिम केन्द्र, दुधौली, सिन्धुलीका तत्कालीन समादेशक शाहसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुस ११ गते दोषी ठहर गरेको थियो।

यस प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैदका साथै १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र बिगोबराबर जरिवाना असुल गर्न विशेषले आदेश दिएको छ। 

दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।

उनीहरूले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलबभत्ता ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबी भरपाईमा किर्ते दस्तखत गरी खाएको पुष्टि भएको अख्तियारको दाबी थियो।

विशेष अदालतले भ्रष्टाचार ठहर हुने फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमा शाहले लामो स्पष्टीकरण लेखेर आफू निर्दोष भएको दाबी गरेका छन्।

‘जुन तलबी प्रतिवेदनमा प्रहरी जवानहरूका हस्ताक्षर किर्ते गरी रकम हिनामिना गरेको भन्ने आधारमा यो मुद्दा चलाइएको छ, त्यही तलबी प्रतिवेदनमा प्रहरी जवानहरूको किर्ते हस्ताक्षरसँगै मेरो हस्ताक्षर पनि किर्ते गरिएको कुरा विधिसम्मत रूपमा पुष्टि भएको छ,’ उनले लेखेका छन्, ‘प्रहरी जवानहरूको हस्ताक्षर किर्ते गरिएको तथ्य प्रमाणमा लाग्ने तर राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले वैज्ञानिक परीक्षण गरी प्रमाणित गरेको हस्ताक्षर परीक्षण गर्ने विज्ञको प्रतिवेदन र वकपत्रबाट समेत पुष्टि भएको मेरा किर्ते हस्ताक्षर भने अदालतले प्रमाणमा नलिने कसरी हुन सक्छ? एकै प्रकृतिका प्रमाणमध्ये एउटालाई प्रमाण मान्ने र अर्कोलाई नमान्ने दोहोरो मापदण्ड मेरा हकमा मात्र किन प्रयोग गरियो? म अवाक् छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .